सरकारी कार्यालय खुले, दुई सिफ्टमा काम

पहिलो सिफ्ट बिहान ८ देखि दिउँसो १ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म

सुर्खेतः झन्डै तीन महिनादेखि बन्द रहेका सरकारी कार्यालय आजदेखि खुलेका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका कार्यालयहरु बन्द थिए । यसबीचमा आन्तरिक कामका लागि मात्रै केही कार्यालय खुलेपनि सोमवारदेखि भने सबै सेवा प्रवाह गर्नेगरी कार्यालयहरु खुलेका हुन् ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लाका सबै सरकारी कार्यालयहरु खुलेको बताए । उनका अनुसार धेरै भिडभाड हुने कार्यालयहरुमा दुई चरणमा सेवा प्रवाह गरिनेछ । आर्थिक वर्षको अन्त्यतिरको समय भएकाले कामको चापसँगै कार्यस्थलमा भौतिक दूरी पनि घटाउनु पर्ने भएकाले दुई चरणमा कार्यालय सञ्चालन गर्न लागिएको हो ।

पहिलो सिफ्ट बिहान ८ देखि दिउँसो १ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न लागिएको कार्यालय प्रमुखहरुले जनाएका छन् । मालपोत कार्यालय सुर्खेतका प्रमुख लक्ष्मीकुमारी शाहीले कार्यालयमा धेरै भिडभाड हुने भएकोले दुई चरणमा सेवाप्रवाह गर्ने तयारी गरिएको बताइन् । ‘मालपोत सबैभन्दा बढी भीडभाड हुने कार्यालय हो,’ उनले भनिन् ‘हामीले दुई चरणमा कार्यालय खोल्ने निर्णय गरेका छौं ।’

मालपोत र यातायातलगायत सेवाग्राहीको भिडभाड हुने कार्यालयले विहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म दुई सिफ्टमा सेवा दिनेछन् । अन्य कार्यालयको हकमा कार्यालय प्रमुखले जनशक्ति र भिडभाडलाई हेरेर पहिलेकै समयमा सेवा दिने वा दुई चरणमा दिने भन्ने बारे निर्णय लिन सक्ने छन् । धेरै भिडभाड नहुने र कर्मचारी समेत न्युन भएका कार्यालयहरुले भने पहिलेकै समयमा सेवा दिने गरी सूचना जारी गरिएको प्रजिअ रेग्मीले बताए । उनले सेवाप्रदायक र सेवाग्राही दुबैलाई स्वास्थ्य सुरक्षा सतर्ककता अपनाएर काम गर्न अनुरोध गरे ।

प्रकाशित मितिः   १ असार २०७७, सोमबार ११:५५