खाद्यन्न आपूर्ति र भण्डारणका लागि ५५ करोड विनियोजन

सुर्खेत : भोकमरीबाट जोगाउन कर्णाली प्रदेश सरकारले खाद्यन्न आपूर्ति र भण्डार बढाउने योजना ल्याएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा उक्त योजना समेटिएको हो ।

‘कोभिड-१९ को महामारीका कारण उत्पन्न हुनसक्ने भोकमरीबाट जनताको जीवन जोगाउनु सरकारको प्रमुख दायित्व हो’ प्रदेशसभाको बैठकमा बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले भने । यसका लागि खाद्य सुरक्षाको प्रत्याभूति हुनेगरी कार्यक्रम ल्याइएको उनले बताए ।

संघ र स्थानीय सरकारसँगको समन्वयमा खाद्यन्न लगायतका आधारभूत आवश्यकताका वस्तुको सहज आपूर्ति गरिने बजेटमा उल्लेख गरिएको छ । प्रदेशमा रहेको खाद्यन्न भण्डारी वृद्धि गरि वितरणलाई सहज बनाउने घोषणा मन्त्री ज्वालाले गरेका छन् ।

‘एक स्थानीय तह, एक अन्न भकारी’ कार्यक्रम सञ्चालन गर्ने योजना सरकारले अघि सारेको छ ।

खाद्यन्न आपूर्ति, भण्डार र वितरणका लागि भनेर ५५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मितिः   १ असार २०७७, सोमबार १२:०१