कर्णालीको बजेट घोषणा आज, ३३ अर्ब हाराहारीको हुने

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि आज बजेट ल्याउँदैछ ।

आज बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बजेट सार्वजनिक गर्दैछन् । आगामी वर्षका लागि ३३ अर्ब हाराहारीको बजेट बजेट पेस गर्ने तयारी सरकारको छ ।

स्वास्थ्य पूर्वाधार र जनशक्ति थप्ने, कोरोनाको महामारीका कारण रोजगारी गुमाएका र प्रदेशमै रहेका बेरोजगारलाई रोजगारी दिने तथा रोग र भोकमरीबाट नागरिकलाई बचाउने गरी बजेट ल्याउने तयारी सरकारको छ ।

आगामी बजेट स्वास्थ्य, खाद्य सुरक्षा र रोजगारीमा केन्द्रित हुने मन्त्री ज्वालाले बताए । ‘कोरोना भाइरसको महामारी सँगसँगै भोकमरी र बेरोजगारको समस्या बढ्ने देखिएकाले यस पटक बजेटको मोडालिटीमा केही परिवर्तन गरिएको छ,’ उनले भने, ‘स्वास्थ्य, खाद्य आपूर्ति, रोजगारी र कृषि आगामी बजेटका प्रमुख प्राथमिकता हुने छन् ।’

मन्त्री ज्वालाका अनुसार आगामी बजेट यसअघिका बजेटहरूभन्दा केही फरक हुनेछ । यो पटक राजस्वको स्रोत घटेको र विशेष परिस्थिति भएका कारण बजेटका प्राथमिकतासँगै आकार पनि घट्ने छ । सरकारले चालु आवभन्दा झण्डै एक अर्ब कम बजेट ल्याउन लागेको हो । प्रदेश सरकारले चालु आवमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रूपैयाँको बजेट ल्याएको थियो ।

प्रदेशसभाको बैठक ११ बजेदेखि सुरु हुँदैछ ।

प्रकाशित मितिः   १ असार २०७७, सोमबार १०:२१