कर्णालीमा कोरोना संक्रमित नौ सय १६ पुगे

सुर्खेतः कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या नौ सय १६ पुगेको छ । शनिवार थप ७० जना कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका ४० र दैलेखका ३० जनामा संक्रमण देखिएको छ ।

सुर्खेतका ४० जनामध्ये गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका नौ जना, चौकुनेका आठ जना र वीरेन्द्रनगरका एक जना  हुन् । दैलेखका ३० संक्रमितमध्ये आठबीसका २० जना, नौमुलेका नौ जना र डुङ्गेश्वरका एक जना रहेका छन् ।

प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित दैलेखमा भेटिएका छन् । दैलेखमा पाँच सय दुई जनामा संक्रमण भेटिएको महाशाखाले जनाएको छ । सुर्खेतमा एक सय ९७ जना, सल्यानमा एक सय ३७ जना, कालिकोटमा २८ जना, जुम्ला २४ जना, जाजरकोटमा आठ जना, मुगुमा दुई जना, हुम्लामा एक जना, डोल्पामा एक जना र कर्णालीमै संक्रमण पुष्टि भएका अन्य प्रदेशका १६ जना छन् ।

यस्तै शनिवार नौ जना संक्रमति निको भएर घर फर्किएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९१ जना पुगेको छ । कर्णालीमा कोरोनाका कारण हालसम्म तीन जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   ३१ जेष्ठ २०७७, शनिबार १५:३६