संविधान संशोधन विधेयक सर्वसम्मत पारित
काठमाडौं : लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक संसदबाट सर्वसम्मतले पारित भएको छ ।
सरकारले नेपालको वास्तविक भू-भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो । सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ।
जेठ २७ गते संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।
शनिवार संविधान संशोधन प्रतिनिधि सभामा सांसदहरूले दफाबार छलफल गरेका थिए । त्यसपछी विधेयक निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
संविधान संशोधनमाथि निर्णय गर्दा मत विभाजन गरिएको थियो । मतविभाजनमार्फत सर्वसम्मत रुपमा पारित गरिएको हो । आजको बैठकमा २५८ जना सांसद उपस्थित रहेका थिए । उपस्थित सबैले संशोधन प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
त्यसअघि सुरुवातमै आफ्नो संशोधन प्रस्ताव खारेज भएपछि सांसद सरिता गिरि बैठकबाट बाहिरिएकी थिइन् ।
विधेयक पारित भएर राष्ट्रपतिले लागू भएको घोषणा गरेसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ। जसमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिने छ ।
प्रकाशित मितिः ३१ जेष्ठ २०७७, शनिबार १७:५५
साझा बिसौनी ।