कविता

भोकको ज्वालामुखी

     भवानी पौडेल

उसलाई लागिरह्यो हरदम
दौलतको भोक
शक्तिको भोक
तर,
कहिल्यै लागेन उसलाई
मानवताको भोक
परोपकारको भोक
सत्य र न्यायको भोक
जीवनका हरेक पाइलामा
खोज्यो उसले
केवल आपूmलाई
आफ्नो सुख र समृद्धिलाई
आफ्नो वैभवलाई
तर,
कहिल्यै सुनेन् उसले
अभावका पदचापहरूलाई
भोकको ज्वालामुखीलाई,
कहिल्यै देखेन उसले
विवशताको पहाडलाई
न्यायको भिख मागिरहेका
निर्दोष आँखाहरूलाई
उसले चालिरह्यो सधैं
स्वार्थका गोटीहरू
खेलिरह्यो सधैं
सकुनी पासाहरू
कहिल्यै चिन्न सकेन उसले
दुःख र पीडाको रङ्ग

अहँ !
कहिल्यै चिन्न सकेन उसले
कर्तव्य र दायित्वको रङ्ग

फगत्
कुदिरह्यो कुदिरह्यो
आडम्बरको पट्टी बाँधेर
महत्वाकांक्षाको सुदूर यात्रामा
यो भुलेर कि
मृत्यु अन्तिम सत्य हो
शक्ति, सत्ता सबै क्षणिक हुन्
कात्रोमा कुनै गोजी हुँदैन ।
जतिबेला बुझ्यो उसले
यो कटु यथार्थ
धेरै ढिलो भइसकेको थियो
अब त उसँग
त्यति पनि समय थिएन
जसको समिपमा उभिएर उसले
आँशु बगाउन सकोस्
समयले त उसको लागि छोडेको थियो
केवल पश्चाताप
मात्र पश्चाताप ।।

प्रकाशित मितिः   ३१ जेष्ठ २०७७, शनिबार ०६:०७