चिठी

वर्ष २०२० लाई एक पत्र

प्रिय वर्ष सन् २०२०,
न्यानो अभिवादन 

सन् २०१९ लाई बिदाइ गरेर भव्यरूपमा तिमीलाई स्वागत गर्न पाउँदा एकदमै हर्षित थिएँ । तिम्रो आँगमनमा म मात्र कहाँ हो र, सारा विश्व समुदाय नै हर्षित थियो । मेरो देश त झन् तिमीलाई भ्रमण वर्षको रूपमा मनाउने पूर्ण तयारीमा थियो । तयारी मात्र होइन भ्रमण वर्ष २०२० को भव्य रूपमा उद्घाटन पनि गर्‍यो ।

तिम्रो उद्घाटन भव्य रूपमा भए पनि समीक्षासहितको समापन हुन पाएन । तिमी फक्रनै नपाएर ओइलाएको फूल झैं भयौं । यो वाक्य हेर्दा निराशा जनाउने खालको देखिए पनि मैले तिमीबाट धेरै आशा राखेको छु । तिम्रो आँगमनसँगै तिम्रै पछि लागेर चीनको वुहानबाट मानव समुदायको लागि घातक रोग कोभिड–१९ कोरोना भाइरस यो धर्तीमा आयो । जसको कारण भ्रमण वर्ष सुरु भएको केही समय नबित्दै स्थगित भयो ।

वुहानबाट म्याराथून दौडमा दौडिएको कोरोना भाइरस इटली हुँदै विश्व भ्रमणमा निस्कियो र विश्व समुदायलाई घरभित्रको नजरबन्दी बनायो । र बन्दी जीवन बिताइरहेका मान्छेलाई भन्यो ‘प्रकृतिलाई तिमीहरूले चरम दोहन ग¥यौं र कोरोना नामको म भाइरसलाई जन्म गरायौं । बदलामा नजरबन्दीको सजाय भोग । मैले तिमीहरूलाई दिएको यो सजायवापत प्रदूषणबाट निस्सासिएकी प्रकृतिले केही समय भए पनि स्वच्छ हावा त लिन पाउँछिन् !’

प्रिय नयाँ वर्ष,

हरेक वर्षको तिम्रो आँगमन चिसो मौसममा भए पनि त्यसको केही समयपछि बसन्तको आगमन हुन्थ्यो । पालुवा पलाउने, गुराँस फुल्ने, कोइलीले गीत गाउने अझ भनौं प्रकृतिले रङ्गीबिरङ्गी स्वरूपमा आपनो उत्सव मनाउँथिन् । हामी त्यसका दर्शक बन्थौं । तर यो पालि कोरोनाले हामीलाई त्यो उत्सव हेर्ने अवसर दिएन । किनकी हामी घरमा नजरबन्दी भयौं र घर ती सबै दृश्य हेर्न नदिने पर्दा बन्यो । हो आज हामीलाई महसुस भइरहेको छ । गल्ती हामीले गरेकोले नै यो सजाय भोग्न बाध्य छौं ।

तिमी त आफ्नै रफ्तारमा छौं तर हाम्रो रफ्तार रोकिएको छ । हाम्रो दैनिकी सबका सब परिवर्तन भएका छन् । जसका कारण विश्व अर्थतन्त्र तहस–नहस भएको छ । कोरानाले विश्वबाट आजको दिनसम्म हामी मध्ये ७६ लाख भन्दा बढीलाई संक्रमित बनाएको छ भने चार लाख भन्दा बढी प्रियजनको ज्यान लिएको छ । त्यसलाई यतिले मात्र पुगेको छैन, हाम्रा प्रियजनहरूलाई संक्रमित गराउने र ज्यान लिनेको संख्या दिन प्रतिदिन बढाइरहेको छ । तसर्थ हामी आतङ्कको जीवन बाँचिरहन परेको छ ।

प्रिय वर्ष २०२०, तिम्रो र कोरोनाको बीचमा खासै सम्बन्ध त छैन । सम्बन्ध त हाम्रो र कोरानाको बीचमा छ । तर पनि आम मान्छेले कोरोनालाई तिमीसँग जोडेर हेरेका छन् । लाग्छ अब त इतिहासको पानामा कोरानासँग जोडेर तिम्रो नाम दर्ज भएर आउनेछ । त्यसैले म चाहन्छु तिमी हामीबाट बिदा हुनु भन्दा अगावै यो धर्तीमा देखिएको कोरोना भाइरसलाई बिदा गर्न पाइयोस् । यदि त्यसो गर्न पाइयो भने तिम्रो अनुहार दागरहित त हुनेनै छ सिङ्गो मानव समुदायको पनि कल्याण हुनेछ ।

हामीलाई विश्वास छ, विज्ञान र प्रविधिको युगमा वैज्ञानिकहरूले कोरानालाई हराउनका लागि यसको भरपुर उपयोग गर्ने छन् । हामी ढुक्कले बाँच्नेछौं । ढिलो या चाँडो यो भाइरस हामीबाट सदाका लागि बिदा हुनेछ । त्यसैले म चाहन्छु तिम्रै कार्यकालमा मान्छेले कोरोनासँग जितेको हेर्न पाइयोस् । अबको दश वर्ष पछि इतिहासमा पढ्न पाइयोस् । विश्वभर फैलिएको कोरोना भाइरसलाई मान्छेले जितेको ऐतिहासिक वर्ष सन २०२० भनेर ।

प्रिय वर्ष २०२० आज म घरमै बसेर अबको १० वर्ष पछिको विश्वमा मान्छे कस्तो होला ? के मान्छेले आजको यो कठिन समयबाट शिक्षा लिएर भोलि अगाडि बढ्ला त ! के प्रकृतिको चरम दोहन हुने मानवीय गतिविधिहरू रोकिएलान् त ! मानव के निःस्वार्थी रहला त ! यी र यस्ता प्रश्नहरू मेरो मनमा खेलिरहेका छन् । तर मसँग यी कुराहरूको जवाफ पाउनलाई त अब दश वर्ष कुर्नबाहेक अर्को विकल्प छैन ।

हुन त एक दशक खासै ठूलो अवधि होइन । यो एक दशकमा राजनैतिक रूपमा खासै ठूला परिवर्तन त आउने देखिदैन । त्यसका लागि अहिले विश्वमा त्यस्तो कुनै आन्दोलन हुने देखिदैन । त्यसैले राजनैतिक व्यवस्था यथावत रहनेछ । आर्थिक रूपमा भने अबको दुई–चार वर्ष विश्वले थप आर्थिक संकट व्यहोर्नुपर्नेछ । किनभने कोरोनाले विश्वको आर्थिक अवस्थालाई कमजोर पारेको छ । लाखौंको संख्यामा मान्छेहरूले रोजगारी गुमाएका छन् । त्यो सबै ‘रिकभर’ हुन केही समय लाग्ने छ । केही बाहेक प्र्रायः उद्योगधन्दा ठप्प छन् । रोजगारीका क्षेत्रहरू विद्यालय, होटेल र यातायात लगायतका सबै क्षेत्र बन्द छन् । यी सबै क्षेत्र पूर्ण रूपमा सञ्चालनमा आउनलाई कोरोना पूर्ण रूपमा नियन्त्रण हुनुपर्नेछ ।

सामजिक र आर्थिक क्षेत्रमा नराम्रो प्रभाव परे पनि सूचना प्रविधिको क्षेत्रमा अबको एक दशक ऐतिहासिक हुनेछ । यो बीचमा धेरै परिवर्तन हुनेछन् । लकडाउनले सूचना प्रविधिलाई अत्याधिक प्रयोगमा ल्यायो । ‘वर्क फ्रम होम’ले पनि सूचना प्रविधिको विकासमा टेवा पु¥याएको छ । सूचना प्रविधिको विकासले नै दूरी कायम गर्दा पनि एकअर्काप्रति नजिक बनाएको छ ।

यही बीचमा सूचना प्रविधिको विकास र प्रयोग अत्याधिक भइरहेको छ । विभिन्न सभा, सम्मेलनहरू अनलाइनमै भइरहेका छन् । हिजो ती सभा सम्मेलन गर्नको लागि ठूलो रकम खर्च हुन्थ्यो भने आज एकदम कम खर्चमा भइरहेका छन् । अब लकडाउन सकिए पनि अनलाइन सेमिनारहरूले निरन्तरता पाउने छन् । यसले समय र पैसा दुवैको बचत हुनेछ । अझ यसको नयाँ–नयाँ रूपको विकास हुँदै जानेछ ।

अबको एक दशकपछि मान्छेहरू अफिसमा जाने छैनन् । घरबाटै अफिस सञ्चालन हुनेछन् । त्यसैले अफिसको लागि कुनै छुट्टै भवनको आवश्यकता पर्ने छैन । अहिले बैंकहरूले विद्युतीय प्रणालीको अत्याधिक प्रयोग गरेकोले मान्छेहरू बंैकमा पैसा डिपोजिट गर्न मात्र जान्छन् । झिक्नको लागि एकदमै कम जान्छन् । घरबाटै पैसा पठाउन सकिन्छ । समय पूराका पूरा परिवर्तन भएको छ ।

हिजो पैसा पठाउनको लागि बंैकमा लाइन लाग्नुपथ्र्यो । आज लाइन लाग्नुपर्ने झन्झट छैन । दश वर्ष अगाडि हामीले अचम्म मानेर प्रयोग गरेका कुराहरू आज सामान्य भइसकेका छन् । त्यसैले समयसँगै सूचना प्रविधिको अत्याधिक विकास भइरहेको छ । यो क्रम निरन्तर चलेमा अबको दशक सूचना र प्रविधिको दबदबा हुनेछ । अबको एक दशक पछाडि डिजिटल विश्व हुनेछ । हामी पनि डिजिटल हुनेछौं ।

प्रिय वर्ष २०२० अबको डिजिटल विश्वको सुरुवात गर्ने क्रम तिमीबाटै भएको म हेर्न चाहन्छु । त्यसैले डिजिटल विश्वको सुरुवात मात्रै होइन, अहिले फैलिरहेको महामरी कोरोना भाइरसको अन्य गर्ने र डिजिटल विश्वको सुरुवात गर्ने अभिभारा तिम्रो काँधमा छ । शुभकामना तिमीलाई यी दुवैमा सफलता मिलोस् । इतिहासमा स्वर्णिम अक्षरहरूले लेखेको पढ्न पाइयोस् डिजिटल विश्वको सुरुवात र कोरोनाको अन्य भएको वर्ष सन् २०२० भनेर । यदि भन्दै बिदा हुन्छु । कलम बन्द ।

उही तिम्रो रवि

रबी नेपाली
प्रकाशित मितिः   ३१ जेष्ठ २०७७, शनिबार ०६:०८