करार जनशक्तिकै भरमा स्वास्थ्य संस्था

कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्ति र पूर्वाधारको अभाव देखिएको छ । सामान्य अवस्थामै चिकित्सक, स्वास्थ्यकर्मी र पूर्वाधारको अभाव झेल्नुपर्ने कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएका बेला उपचारमा खटिने स्वास्थ्य जनशक्ति र पूर्वाधारको अभाव देखिएको हो ।

दरबन्दी अनुसार जनशक्ति नहुँदा कोरोना महामारीसँग जुध्न चुनौती थपिएको छ । प्रदेशभर अहिले ५० जना विशेषज्ञ चिकित्सक छन् । कर्णालीमा प्रदेश मातहत ३३ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । त्यसमध्ये पनि २५ जना चिकित्सक भने करारमा नियुक्त गरिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुुसार प्रदेश मातहत मात्रै ५९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर उक्त दरबन्दीमा आठ जनाको मात्रै पदपूर्ति भएको छ । ५१ चिकित्सकको दरबन्दी रिक्त छ ।

प्रदेश स्वास्थ्य निर्देशक रीता भण्डारीले चिकित्सकको अभावका कारण कोरोना उपचार प्रक्रियामा चुनौती भएको बताइन् । उनका अनुसार संक्रमितको संख्या दिनप्रति दिन बढिरहेका बेला स्थानीयस्तरमा समेत आइसोलेसन थप गर्नुपर्ने देखिएको छ । तर त्यहाँ खटाइने डाक्टरको अभाव छ । स्थानीय तहहरूमा अहिले पाँचौं र छैठौं तहका स्वास्थ्यकर्मी मात्रै छन् ।

प्रदेशका अधिकांश स्थानीय तहमा कोरोना संक्रमण फैलिसकेको छ । संक्रमितलाई स्थानीय तहमै आइसोलेसन बनाएर उपचार गर्ने गरिएको छ । आइसोलेसनमा कम्तीमा एक जना मेडिकल अधिकृत खटिनुपर्ने हुन्छ । जनशक्ति अभावमा अहिले त्यहाँ अनमी, अहेब र एचए उपचारमा खटिनु परेको छ । ‘स्थानीय तहका आइसोलेसनहरूमा चिकित्सक खटाउन सकिएको छैन । अहिले स्थानीय तहमै भइरहनु भएका स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारमा खटिनु भएको छ,’ निर्देशक भण्डारीले भनिन् ।

भण्डारीका अनुसार जनशक्ति अभाव भएपछि करारमा चिकित्सक भर्ना गर्न सामाजिक विकास मन्त्रालयले तयारी थालेको छ । तर करारमा पनि तत्काल चिकित्सक आउने अवस्था देखिएको छैन । ‘पहिले पनि करारमा चिकित्सक माग गरिएको हो,’ उनले भनिन्, ‘त्यतिबेला कोही आउनु भएन । यस पटक झन् कोरोना महामारीमा खटिने गरी चिकित्सक आउने सम्भावना कमै छ ।’

जिल्लाहरूमा दरबन्दी अनुसार चिकित्सकको पदपूर्ति भएको छैन । प्रत्येक जिल्ला अस्पतालमा तीन जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अधिकांश जिल्लामा करारमा एक–एक जना विशेषज्ञ चिकित्सक राखेर व्यवस्थापन गरिएको छ । तीन जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको मुगुमा एक जना पनि चिकित्सक छैनन् । जाजरकोट, कालिकोट, डोल्पा र हुम्लामा एक–एक जना विशेषज्ञ चिकित्सक करारमा राखिएको छ ।

प्रदेशभर एक सय १२ जना मेडिकल अधिकृतको दरबन्दी भएकोमा २० जनाको मात्रै पदपूर्ति भएको छ । ९२ दरबन्दी रिक्त छ । ५८ जना मेडिकल अधिकृत करारमा लिइएको छ । प्यारामेडिक ७८ जनाको दरबन्दीमा ४५ जना कार्यरत छन् । ३३ दरबन्दी रिक्त छ । ५५ जनालाई करारमा लिइएको छ । प्रदेशमा दुई सय ३४ स्टाफ नर्सको दरबन्दी रहेकोमा ८२ जनाको मात्रै पदपूर्ति भएको छ । एक सय ५२ पद रिक्त छ । स्थानीय तहहरूले विभिन्न प्रक्रियामार्फत एक हजार दुई सय ३१ जना स्टाफ नर्स नियुक्त गरेर स्वास्थ्य संस्थाहरूमा खटाएका छन् ।

निर्देशनालयले हाल कोरोना सक्रमण बढी देखिएका ठाउँमा आपतकालीन रूपमा प्रदेश अस्पतालबाट जनशक्ति खटाउने गरेकोे छ । प्रदेशमा सबैभन्दा बढी संक्रमित देखिएको दैलेखमा प्रदेश अस्पतालबाट दुई जना चिकित्सक पठाइने तयारी गरिएको निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ७९ वटा स्थानीय तहमा एक जना पनि विशेषज्ञ डाक्टर छैनन् । सबै स्थानीय तहमा गरी १४ जना मात्रै मेडिकल अधिकृत कार्यरत छन् । कोरोना महामारीका समयमा स्थानीय तहमा चिकित्सकको अभाव छ । कर्णालीमा २५ अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र र तीन सय ३३ स्वास्थ्य चौकी छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कर्णालीमा जम्मा ६५ वटा एम्बुलेन्स छन् ।