संक्रमणमुक्त नहुँदै ‘डिस्चार्ज’

आइसोलेसनमा राखिएका कोरोना (कोभिड–१९) संक्रमितलाई पुनःपरीक्षण नगरेरै घर पठाइएको छ । सुर्खेतमा रहेको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका संक्रमितलाई घर पठाइएको हो ।

प्रदेश अस्पतालले ३१ जनालाई बिहीवार डिस्चार्ज गरेको थियो । संक्रमणमुक्त नहुँदै डिस्चार्ज गरिएको हो । यसअघि उनीहरूको पीसीआर विधिबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि १९ दिन आइसोलेसनमा राखेर घर पठाइएको हो । तर उनीहरू संक्रमणमुक्त भएको भने पुष्टि अस्पतालले नगरेरै पठाएको हो । सरकारी निर्देशिका अनुसार नै घर पठाइएको दावी अस्पतालले गरेको छ । केन्द्रकै गाइडलाइन अनुसार घर पठाइएको प्रदेश अस्पतालका कोरोना फोकलपर्सन डा. केएन पौडेलले बताए ।

१९ दिनसम्म आइसोलेसनमा राख्दा पनि कुनै लक्षण नदेखिएपछि घर पठाइएको उनले बताए । यद्यपि घर गएर पनि २१ दिनसम्म सतर्कतासहित ‘होम क्वारेन्टाइन’मा बस्न भनिएको छ । पौडेलका अनुसार कोरोना भाइरस संक्रमण भएको १४ दिनसम्म आइसोलेसनमा राख्ने भनिएता पनि यहाँ प्रदेशको निर्णयअनुसार १९ दिन राखेर घर पठाउने गरिएको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोना संक्रमति भएको १४ दिनपछि अरु व्यक्तिहरूमा संक्रमण नफैलिने भनेकाले जोखिम नहुने अपेक्षा गरिएको उनले बताए । साथै घरमा पठाए पनि खासै समस्या नहुने डा. पौडेलको भनाइ छ ।

यसअघि संक्रमितको पुनः परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाउने गरिएको थियो । पछिल्लो समय संक्रमित बढेसँगै आइसोलनले धान्न नसक्ने अवस्था आएपछि पुनःपरीक्षण नगरेरै घर पठाउन थालिएको हो । कोरोना पोजेटिभ हुँदाहुँदै पनि संक्रमितलाई घर पठाइएको भन्दै विरोध पनि भइरहेको छ । यसरी घर पठाउँदा समुदायमा संक्रमण फैलिन सक्ने भन्दै नागरिकस्तरबाट विरोध हुन थालेको हो । शुक्रवारसम्म कर्णाली प्रदेशका विभिन्न आइसोलेसनमा भएका ८२ जना कोरोना संक्रमितलाई घर पठाइएको छ ।

यसैबीच प्रदेशमा कोरोना संक्रमितको संख्या आठ सय नाघेको छ । शुक्रवार थप ८३ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या आठ सय ४६ पुुगेको हो । सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण तीन जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मितिः   ३१ जेष्ठ २०७७, शनिबार ०६:०३