मल अभाव सुल्झाऊ
कृषकहरूका लागि यो खेती गर्ने समय हो । धानको बीऊ राख्न सुरु भइसकेको छ भने अबको केही समयमा रोपाईं सुरु हुन्छ । तर कोरोना रोकथाम तथा नियन्त्रणका लागि भनेर सरकारले गरेको लकडाउनका कारण कृषि कर्म पनि प्रभावित बनेको छ । यद्यपि बुधवार मन्त्रिपरिषद् बैठकले गरेको लकडाउन खुकुलो बनाउने निर्णयले भने अब केही सहज हुनेछ । खेती–किसानी गर्न अवरोध हुनेछैन । मानिसहरू काम गर्न पाउनेछन् । तर सँगसँगै यतिबेला कृषकहरू अर्को समस्यासँग जुधिरहेका छन् । त्यो हो, मलको अभाव ।
सरकारले कोरोना भाइरस संक्रमणको बहाना झिकेर यो वर्ष देशभरका किसानलाई युरिया मलको चरम अभाव व्यहोर्न बाध्य बनाएको छ । धानबाली रोपाईं सुरु हुने समय आइसक्दासम्म पनि कृषकहरूले मल पाइरहेका छैनन् । कुनै न कुनै बहानामा युरिया मलका लागि वर्षेनी सास्ती व्यहोर्न बाध्य हुँदै आएका किसान यस वर्ष कोरोना भाइरसको संक्रमण र लकडाउनको मारमा छन् । कृषि तथा पशुपंक्षी मन्त्रालयसँगै सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी र पब्लिक प्राइभेट पार्टनरसीप अन्तर्गतको साल्ट ट्रेडिङ्ग कर्पोरेसनले समेत कोरोना (कोभिड–१९) भाइरसको संक्रमण र लकडाउनका कारण चाहेर पनि वर्षे धानबालीका लागि किसानलाई युरिया मल उपलब्ध गराउन नसकिने जनाएको छ । जसले गर्दा किसानले युरिया मलका लागि सास्ती व्यहोर्नुपर्ने भएको छ । जलमार्ग र सडकमार्ग अवरुद्धका साथै बन्दरगाहमा लोड/अनलोड गर्ने र प्याकिङ्ग गर्ने कामदार नपाइएका कारण आउनुपर्ने युरिया निर्धारित समयमा नआउँदा किसानले चर्को अभाव व्यहोर्नु पर्ने भएको हो ।
कोरोना संक्रमण र लकडाउनका कारण यो मल आउन त्यति सहज देखिएको छैन । यता यही कारण बताउँदै मन्त्रालय पनि आफ्नो जिम्मेवारीबाट पन्छिएको छ । युरिया मलको अभाव हुन नदिन र किसानको गर्जो टार्न मन्त्रालयले हालसम्म कुनै पनि वैकल्पिक व्यवस्थाको विषयमा छिनोफानो गरेको छैन । समयमा पर्याप्त बजेट निकासा नहुनु र बजेट निकासा भए पनि समयमै कार्ययोजना बनाएर पारदर्शी रूपमा मल खरिद प्रणाली अघि नबढाइँदा नेपाली किसानले वर्षेनी रासायनिक मलको चर्को अभाव व्यहोर्न बाध्य छन् । कृषि सामग्रीले जानाजान वर्षेनी मलको चर्को अभाव सिर्जना गरी मोटो कमिशनका लागि सरकारद्वारा (जीटूजी) प्रणाली अन्तर्गत भारतसँग मल खरिद गर्दै आएको छ । यस वर्ष किसानले धानबालीसँगै अहिले सुरु भएको मकै गोड्ने समयमा पनि युरिया मलको चर्को अभाव व्यहोर्न थालेका छन् । कृषि सामग्री र साल्ट ट्रेडिङ्ग कर्पोरेसनसँग भएको युरियाको मौज्दात पनि करिब सकिएको छ ।
लकडाउनले सबै क्षेत्र प्रभावित भइरहँदा कृषि पनि अछुतो छैन । अहिले कृषि उत्पादनमा परेको प्रभाव तत्कालीन मात्र नभएर दीर्घकालीन हो । जसको असर भोकमरी निम्त्याउनेसम्म हुनसक्ने कुरालाई सरकारले बेवास्ता गर्नु हुँदैन । कृषि उत्पादनमा अवरोध नगर्नेगरी लकडाउन खुकुलो बनाउने निर्णय स्वागत छ । अब खेतीका लागि आवश्यक मल कृषकलाई उपलब्ध गराउनेतर्फ पनि सरकारको ध्यान जान जरुरी छ ।
प्रकाशित मितिः ३० जेष्ठ २०७७, शुक्रबार ०६:०४
साझा बिसौनी ।