टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु

यात्रु बोकेको टिप्पर कर्णाली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका–१ लालीघाट कालिकोटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ नम्बरको टिप्पर बुधवार बिहान लालीघाट बजार नजिकै नदीमा खसेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार टिप्पर भारतबाट आएका ३९ जना बोकेर रास्कोट नगरपाकिाकाको क्वारेन्टाइनतर्फ हिँडेको थियो । मृत्यु हुनेमा रास्कोट नगरपालिका–२ का २९ वर्षीया शर्मिला सार्की र सोही ठाउँकी २१ वर्षीया थम्की सार्की रहेका छन् । अन्य ३४ जनाको उद्धार गरिएको छ भने तीन जना वेपत्ता छन् । वेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच दुर्घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । रास्कोट नगरपालिका–२ का २० वर्षीय निस्पता सार्की र २८ वर्षीय मिम सार्कीलाई थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौं लगिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कालिकोटबाट उपचारका लागि भनेर हेलिकप्टरमार्फत् सुर्खेत ल्याइएको भए पनि अवस्था गाह्रो भएका कारण काठमाडौं नै लगिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजीव बस्नेतले जानकारी दिए ।

प्रकाशित मितिः   २९ जेष्ठ २०७७, बिहीबार ०६:०२