काम देऊ, रोजगारी बढाऊ

लकडाउनका कारण धेरैले रोजगारी गुमाएका छन् । साना तथा ठूला उद्योग बन्द छन् । व्यापार–व्यवसाय ठप्प छ । यातायातदेखि विकास निर्माण काम रोकिएका छन् । यस्ता विभिन्न क्षेत्रमा काम गरेर रोजगार बनेकाहरू रोजगारीविहीन भएका छन् । यति मात्रै होइन अन्य दैनिक ज्याला मजदुरी गर्नेहरूले पनि काम गर्न पाएका छैनन् । जसले गर्दा दैनिक छाक टार्नै मुस्किल भइरहेको छ । कमजोर आर्थिक अवस्था भएकाहरूलाई साँझ–बिहान के खाने भन्ने चिन्ताले सताउन थालिसकेको छ भने मध्यमवर्गीय परिवार पनि लकडाउनको तेस्रो महिना चलेयता समस्यामा पर्दै गएका छन् । ऋण लिएर घर–व्यवहार चलाएकादेखि व्यापार व्यवसाय गरिरहेकाहरू थप मारमा परेको अवस्था छ ।

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन लम्बिँदै ११औं हप्तामा पुगिसकेको छ । यो निक्कै लामो समय हो । अब लकडाउन खुकुलो बनाउनुपर्ने विषयमा छलफल पनि चलिरहेको छ । कतिपय स्थानमा व्यवसायीहरूले स्वतःस्फूर्त रूपमा लकडाउनको उल्लंघन गर्न थालिसकेका छन् । यसले सरकारलाई दबाब पनि परेको छ । अर्कोतर्फ विज्ञहरूबाट पनि लकडाउन खुकुलो बनाउँदै लैजानुपर्ने सुझाव आएको छ । जनजीवनलाई सामान्यतर्फ फर्काउन लकडाउन खुकुलो बनाउँदै जानु अपरिहार्य पनि भइसकेको छ । न सरकारले सबैलाई पूर्णरूपमा राहत व्यवस्थापन गर्न सक्ने अवस्था नै छ । यस्तो बेला लकडाउनलाई एकतर्फी रूपमा लम्ब्याउँदै जाने हो भने सरकारविरुद्ध नागरिक सकडमा उत्रिने अवस्था नआउला भन्न सकिन्न ।

अहिलेको सबैभन्दा मुख्य समस्या रोजगारीको हो । लकडाउनले बेरोजगार भइ बसेकाहरूलाई काममा लगाउने र आम्दानीको बाटो खोल्नेतर्फ सरकारको ध्यान जानुपर्ने देखिन्छ । कोरोनाविरुद्ध अपनाउनुपर्ने सबै सतर्कता अपनाउँदै विकास निर्माणका साना काम तथा दैनिक ज्याला मजदुरीका गतिविधि सञ्चालन हुन दिनुपर्दछ । जसले एकातर्फ काम पनि हुनेछ भने अर्कोतर्फ बेरोजगार भइ बसेकाहरूले रोजगारी पनि पाउनेछन् । सरकारले नै विशेषखालको योजना बनाएर बेरोजगारहरूलाई काम दिने र रोजगारी उपलब्ध गराउने योजना ल्याउन सक्दछ । यसका लागि धेरै क्षेत्र खुला छन् । उदाहरणका लागि वीरेन्द्रनगर नगरपालिकाले खोर्के–गढी पदमार्ग निर्माणको काम सुरु गरेर बेरोजगारहरूलाई रोजगारी दिएको छ । यस्तै खालका अन्य कामहरू पनि सञ्चालनमा ल्याउन सकिन्छ । जसले विकास निर्माणका कार्य पनि सम्पन्न हुन्छन् भने रोजगारीका अवसर सिर्जना भइ नागरिकको चुल्हो निभ्न पाउँदैन ।

ग्रामीण क्षेत्रमा कृषिजन्य कार्य भइरहेका छन् । तर त्यतिले मात्रै पर्याप्त रोजगारीको अवसर सिर्जना हुँदैन । किनभने खेती–किसानीमा विशेष गरेर अर्मपर्म चल्छ । छरछिमेक मिलेर काम गर्ने गरिन्छ । यसले अर्थोपार्जनमा सघाउँदैन । त्यसमाथि यतिबेला भारतबाट फर्किएका युवाहरूको संख्या ठूलो छ । उनीहरूलाई काममा उपयोग गर्न सकिन्छ । त्यसका लागि सम्भव हुने विकास निर्माणका कार्य सञ्चालन गर्नु नै उपयुक्त विकल्प हो । यसतर्फ सरकारको समयमै ध्यान पुगोस् । बेरोजगारलाई काम दिएर रोजगार बनाउने योजना अहिलेको अपरिहार्य आवश्यकता हो ।