ब्याज र घरभाडा छुटको माग

बैंक ब्याज, घरभाडा र विभिन्न महसुलहरू छुट मिनाहाको माग गर्दै सुर्खेतका व्यवसायीहरूले प्रदर्शन गर्ने भएका छन् । सुर्खेत उद्योग वाणिज्य संघको आह्वानमा बुधवार बिहान मौनजुलुश प्रदर्शन गर्न लागिएको हो ।

बिहान ७ बजे मंगलगढी चोकबाट शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गरिने संघले जनाएको छ । कोरोना (कोभिड–१९) बाट बच्न आवश्यक सम्पूर्ण सुरक्षा सतर्कतासहित भौतिक दूरी कायम गरेर जुलुस निकाल्न लागिएको संघका अध्यक्ष धनबहादुर रावतले जनाए । उनका अनुसार मौन जुलुससहित बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाइने छ ।

जुलुसमा सहभागी हुन नसक्ने बजारभन्दा टाढाका उद्योगी–व्यापारीलाई आ–आप्mनो उद्योग र पसल अगाडि ब्याज मिनाहा, घर भाडा छुट दिनुपर्ने नारा लेखेका प्लेकार्डसहित उभिएर विरोध जनाउन पनि संघले आह्वान गरेको छ ।

अढाई महिनाभन्दा लामो बन्दाबन्दीका कारण उद्योग व्यवसाय ठप्प भएको अवस्थामा निजी क्षेत्रलाई राहत दिनुको साटो झन् आहत गर्न लागिएको भन्दै संघले चरणबद्ध आन्दोलन गर्ने जनाएको छ । आर्थिक क्षेत्र नै अस्तव्यस्त हुने गरी महिनौंसम्म बन्दाबन्दी गरेर उद्योग व्यवसाय ठप्प हुँदा पनि निजी क्षेत्रले प्रत्यक्ष महसुस गर्ने गरी राहत प्याकेज घोषणा नगर्नु सरकारको उदासिनता भएको अध्यक्ष रावतको आरोप छ ।

प्रकाशित मितिः   २८ जेष्ठ २०७७, बुधबार ०६:०६