परीक्षण बढाउन पीसीआर मेसिन थपिँदै

कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९) परीक्षणको दायरा बढाउन लागिएको छ । प्रदेश सरकार र स्थानीय तहहरूले परीक्षणको दायरा बढाउन पीसीआर मेसिन खरिद गर्न लागेका हुन् । प्रदेश सरकारले प्रदेश अस्पतालमा एउटा मेसिन थप्न लागेको छ । हाल भइरहेको मेसिनको क्षमता भन्दा बढी स्वाबको नमूना संकलन हुन थालेपछि परीक्षणको क्षमता बढाउन पीसीआर मेसिन थप्न लागिएको हो ।

प्रयोगशालाले परीक्षण गर्नुपर्ने स्वाबको चाप थेग्न नसकेपछि मेसिन खरिदका लागि प्रदेश अस्पतालले टेण्डर आह्वान गरेको छ । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले पीसीआर मेसिनका लागि टेण्टर गरिसकिएकाले केही दिनमै नयाँ मेसिन जोडिने जानकारी दिए । एउटा मेसिन थप्दा अहिलेको तुलनामा दोब्बर परीक्षण गर्न सकिने उनले बताए । एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्ने क्षमताको मेसिन खरिद गर्न लागिएको हो । उक्त मेसिन खरिदका लागि अस्पताललाई प्रदेश सरकारले ३५ लाख रूपैयाँ बजेट दिएको छ । हाल जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतमा रहेका एक–एक वटा पीसीआर मेसिनले १८ घण्टामा तीन सय जनाको स्वाब परीक्षण गर्न सकिन्छ ।

यस्तै, दैलेखको नारायण नगरपालिकाले पनि पीसीआर मेसिन खरिदका लागि टेण्डर आह्वान गरेको छ । नगरपालिकाले मंगलवार मेसिन खरिदका लागि टेण्डर गरेको हो । निर्वाचन क्षेत्र नं. १ का सांसदहरूले पाउने पूर्वाधार विकास कार्यक्रममा खर्च हुन नसकेको रकमले मेसिन खरिद गर्न लागिएको नगर प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए । परीक्षण समयमै नहुँदा कोरोना संक्रमणको भयावह स्थिति आउन लागेपछि पूर्वाधार विकास कार्यक्रमको रकमबाट मेसिन खरिद गर्ने सहमति भएको उनले बताए । परीक्षणका लागि बाहिर पठाउनुपर्ने र समयमै रिपोर्ट नआउँदा समस्या हुने गरेकाले दैलेखमा पीसीआर मेसिन जडान गर्न लागिएको उनको भनाइ छ ।

निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रमका लागि संघीय सरकारले ६ करोड बजेट दिन्छ । त्यो मध्येको एक करोेड ८४ लाख रूपैयाँ खर्च हुन बाँकी रहेको सोही रकम मध्येबाट नगरपालिकाले मेसिन खरिदका लागि जिल्ला समन्वय समितिलाई रकमान्तर गरिदिन पत्र लखेको थियो । समितिले अख्तियारी दिएपछि मेसिन खरिदका लागि प्रक्रिया अघि बढाइएको हो । अबको एक हप्ताभित्र जिल्ला अस्पतालमा मेसिन राखेर परीक्षण सुरु गर्ने गरी तयारी गरिएको नगर प्रमुख खड्काले बताए ।

यसैगरी, दैलेखकै दुल्लू नगरपालिकामा पनि पीसीआर मेसिन राख्ने तयारी गरिएको छ । त्यसका लागि नगरपालिकाले दुल्लू अस्पालमा आवश्यक पूर्वाधार तयार गरिरहेको छ । प्रदेश सरकारले मेसिन जडानमा सहयोग गर्ने आश्वासन दिएपछि नगरपालिकाले पूर्वाधार तयारीको काम थालेको हो । नगर प्रमुख घनश्याम भण्डारीका अनुसार अबकोे दश दिनभित्र मेसिन राख्ने पूर्वाधार तयार भइसक्ने छ ।

प्रदेशको सबैभन्दा बढी कोभिड–१९ संक्रमण दैलेखमा देखिएको छ । यहाँ मंगलवारसम्म तीन सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाको नारायण नगरपालिका, दुल्लू नगरपालिका र महाबु गाउँपालिकामा धेरै संक्रमित भेटिएका छन् ।


आईसीयू बेड बढाइने

कर्णाली प्रदेश सरकारले तीन सय सघन उपचार कक्ष (आईसीयू) थप गर्न लागेको छ । हाल ४४ शैयाका आईसीयू कक्ष रहेको कर्णालीमा दुई हप्ताभित्र तीन सय बेड थप्न लागिएको हो । सामाजिक विकास मन्त्री दल रावलले मंगलवार प्रदेशको सामाजिक विकास समितिको बैठकमा सरकारको तयारीबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।

समितिले उनलाई बैठकमा बोलाएर कोरोना रोकथामको हालसम्मको तयारी, अहिलेको अवस्था, आगामी कार्ययोजना र बजेटलगायतका विषयमा जानकारी लिएको थियो । समितिका सदस्यहरूको प्रश्नको जवाफमा मन्त्री रावलले प्रदेश अस्पतालमा आइसीयु र भेन्टिलेटर कक्ष थप गर्न लागेको बताए ।

‘कोरोना महामारी सुरु भएको समयमा कर्णालीमा १७ आईसीयू र ५ भेन्टिलेटर थिए,’ मन्त्री रावलले भने, हाल ४४ आईसीयू र १७ भेन्टिलेटर बेड तयार गरिएको छ । आईसोलेसन, आईसीयू र भेन्टिलेटर थप्न तीव्र रूपमा काम भइरहेको छ । केही दिनभित्रै एघार सय आइसोलेसन बेड तयार हुनेछन् ।’ जिल्ला अस्पतालहरूमा कम्तीमा पाँच बेड आईसीयू र दुई बेड भेन्टिलेटर थप गर्न निर्देशन दिएको पनि उनले जानकारी दिए ।

मन्त्री रावलले कोरोना संक्रमण देखिएका नागरिकलाई प्रदेशभरका २७ वटा आइसोलेसन सेन्टरमा राखिने बताए । उनले संघीय सरकारले आइसोलेसनमा रहेका बिरामीलाई चौध दिनमा जाँच नगरेरै घर पठाउने निर्देशन दिए पनि आफूहरू त्यसो गर्ने पक्षमा नरहेको बताए । ‘आइसोलेसन बसेको १३औं दिनमा स्वाव लिन्छौं । १४औं दिनमा पीसीआर रिपोर्ट नेगेटिभ आएमा मात्रै घर पठाउँछौं,’ उनले भने ।

मन्त्री रावलले फिल्डमा खटिने स्वास्थ्यकर्मीले मात्रै सेवा–सुविधा पाउने बताए । ‘अहिले हामीले खटिएको नामसहितको विवरण माग गरिरहेका छौं,’ उनले भने ‘घरमा बस्नेहरूलाई सुविधा दिन सकिदैंन । जोखिमपूर्ण काम गर्नेलाई सरकारले सेवा–सुविधा दिन्छ ।’

प्रकाशित मितिः   २८ जेष्ठ २०७७, बुधबार ०६:०५