पदमार्गको आधा काम सम्पन्न

मुख्यमन्त्रीद्वारा बजेट थप्ने प्रतिबद्धता

खोर्के–गढी पदमार्ग निर्माणका लागि प्रदेश सरकारले बजेट दिने भएको छ । वीरेन्द्रनगर–४ खोर्केदेखि वीरेन्द्रनगरकै वडा नं. १४ को गढी जोड्ने निर्माणाधीन पदमार्गको मंगलवार अवलोकन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट थप्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले पहिलो चरणको कामप्रति सन्तुष्टि व्यक्त गर्दै दोस्रो चरणमा बजेट थपिने बताए । ‘काम हेर्दा सन्तोषजनक छ, लकडाउनमा बेरोजगार बनेका स्थानीयहरूले रोजगारी पाएका छन्, पदमार्ग निर्माणको लागि आवश्यक बजेट थप हुन्छ’ उनले भने । मुख्यमन्त्रीले पदमार्गमा बजेट थप हुने प्रतिबद्धता आएपछि निर्माण समितिले पनि खुशी व्यक्त गरेको छ ।

कोरोनाले अस्तव्यस्त बनाएको बेला प्रदेश सरकारले ठूलो योजनाहरू नगर्ने जानकारी दिदैं मुख्यमन्त्री शाहीले अब वडातहहरूमा हुने साना योजनाहरूलाई पूरा गर्दै लैजाने योजना रहेको बताए । साना योजनाहरू पूरा गर्दै जाने र ठूलो योजनाहरू नगर्ने उनको भनाइ छ । शाहीले रोजगारमूलक योजनाहरू प्रदेशले अगाडि सार्ने उल्लेख गरे ।

पदमार्गको बारेमा जानकारी गराउँदै पूर्वमन्त्री एवम् कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले तोकिएको समयभित्रै पदमार्ग निर्माणको काम सकिने बताए । उनले जिल्लाकै पुरानो सडकलाई पदमार्गको रूपमा विकास गरी आन्तरिक पर्यटनलाई बढावा दिन सकिने उल्लेख गरे । पदमार्गको निर्माणको कामको अवलोकनमा मुख्यमन्त्रीसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा पनि थिए ।

पदमार्ग निर्माण समितिका सचिव अमरबहादुर कार्कीले अहिलेसम्म पदमार्गको काम ५० प्रतिशत सकिएको जानकारी दिए । उनले असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने भनिएको पदमार्गको कूल लागत ८५ लाख रहेको छ । जसमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ६८ लाख र जनश्रमदानबाट १७ लाख लाख व्यहोरिनेछ । पहिलो चरणमा सात सय ८० मिटर पदमार्ग निर्माण हुनेछ । त्यसपछि दोस्रो चरणको काम थालिनेछ । दोस्रो चरणको लागि पनि मन्त्रालयले बजेटको व्यवस्था गर्न लागेको छ ।

करिब चार किमी लामो पदमार्ग सम्पन्न हुन तीन करोड लाग्ने अनुमान छ । सुर्खेतको पुरानो सदरमुकाम गढीबाट वीरेन्द्रनगर आउन–जानका लागि त्यही बाटो प्रयोग हुने गर्दथ्यो । सुर्खेत–दैलेख सडक निर्माण हुनु अघि पनि यही बाटो प्रयोगमा थियो । पदमार्ग निर्माणको अवलोकन गर्न प्रदेश योजना आयोगका सदस्यद्वय योगेन्द्रबहादुर शाही, दिपेन्द्र रोकाया, पदमार्ग निर्माण समितिका अध्यक्ष नगेन्द्रबहादुर सिंह, वडा नं. ४ का वडा अध्यक्ष निलकण्ठ खनाल, नेकपाका नगर इन्चार्ज गंगाराम तिमिल्सेना लगायत थिए ।

प्रकाशित मितिः   २८ जेष्ठ २०७७, बुधबार ०६:०४