ब्याज र घरभाडा छुटको माग गर्दै संघले जुलुस प्रदर्शन गर्ने
सुर्खेत : बैंक ब्याज, घरभाडा र विभिन्न महशुलहरु छुट मिनाहाको माग गर्दै सुर्खेतका व्यवसायीहरुले प्रदर्शन गर्ने भएका छन् । सुर्खेत उद्योग वाणिज्य संघको आह्वानमा भोलि बुधबार विहान मौनजुलुश प्रदर्शन गर्न लागिएको हो ।
विहान ७ बजे मंगलगढी चोकबाट शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गरिने संघले जनाएको छ । कोरोना(कोभिड–१९)बाट बच्न आवश्यक सम्पूर्ण सुरक्षा सतर्कतासहित भौतिक दूरि कायम गरेर जुलुस निकाल्न लागिएको संघका अध्यक्ष धनबहादुर रावतले जनाए । उनका अनुसार मौन जुलुशसहित बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाइने छ ।
जुलुसमा सहभागी हुन नसक्ने बजारभन्दा टाढाका उद्योगी–व्यापारीलाई आ–आप्mनो उद्योग र पसल अगाडि ब्याज मिनाहा, घर भाडा छुट दिनुपर्ने नारा लेखेका प्लेकार्डसहित उभिएर विरोध जनाउनपनि संघले आह्वान गरेको छ ।
अढाई महिनाभन्दा लामो बन्दाबन्दीका कारण उद्योग व्यवसाय ठप्प भएको अवस्थामा निजी क्षेत्रलाई राहत दिनुको साटो झन आहत गर्न लागिएको भन्दै संघले चरणवद्ध आन्दोलन गर्ने जनाएको छ । आर्थिक क्षेत्र नै अस्तव्यस्त हुने गरी महिनौंसम्म बन्दाबन्दी गरेर उद्योग व्यवसाय ठप्प हुँदापनि निजी क्षेत्रले प्रत्यक्ष महशुस गर्ने गरी राहत प्याकेज घोषणा नगर्नु सरकारको उदासिनता भएको अध्यक्ष रावतको आरोप छ ।
निजी क्षेत्रको जर्जर अवस्थालाई मध्यनजर गरी सरकारले तत्काल राहत प्याकेज घोषणा नगरे आप्mना उद्योग व्यवसायका चाबी राज्यलाई बुझाउने चेतावनी समेत उनले दिए ।
संघका महासचिव लक्ष्मण कंडेलले पनि निजी क्षेत्रको धैर्यताको बाँध फुटिसकेको टिप्पणी गर्दै निजी क्षेत्रको संयमतालाई कमजोरी नठान्न सरकारलाई आग्रह गरे ।
प्रकाशित मितिः २७ जेष्ठ २०७७, मंगलवार १४:४४
साझा बिसौनी ।