स्वास्थ्यकर्मीको कोरोना रिर्पोट नेगेटिभ

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरस्थित देउती अस्पतालका पाँच जना स्वास्थ्यकर्मीहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएपछि उनको ‘ट्राभल हिस्ट्री’का आधारमा देउती अस्पतालका पाँच जना स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिएको थियो ।

डोल्पा जानुभन्दा एक दिन अघि देउती अस्पतालमा ती पुरुषले उपचार गराएका थिए । उनको उपचारमा संलग्न स्वास्थ्यकमीलाई संक्रमण सर्न सक्ने आशंकामा पीसीआर परीक्षण गरिएको थियो । आशंकित पाँचै जनामा कोरोना संक्रमण नदिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

यस्तै, डोल्पामा पनि उनीसँग सम्पर्कमा रहेका आफन्त र मलामी गएका व्यक्तिहरूको स्वाव संकलन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट तीन जनाको स्वास्थ्यकर्मीहरूको टोलि गएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले सोमवार एक सय ५४ जनाको स्वाव संकलन गरिएको जानकारी दिए । जेठ २० गते डोल्पामा होमक्वारेन्टीनमै रहेका बेला मृत्यु भएका ती व्यक्तिको अन्त्येष्टिपछि जेठ २४ गते मात्रै कोरोनाबाट मृत्यु भएको पुष्टि भएको थियो ।

प्रकाशित मितिः   २७ जेष्ठ २०७७, मंगलवार १४:२९