मृतकको ‘ट्राभल हिस्ट्री’ पछ्याउँदा

स्वास्थ्यकर्मीको पीसीआर परीक्षण

कोरोना संक्रमणका कारण डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भएपछि उनको ट्राभल हिस्ट्रीका आधारमा सुर्खेतको वीरेन्द्रनगरस्थित देउती अस्पतालका पाँच जना स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ । कोरोना संक्रमणबाट मृत्यु भएका उनी जेठ १५ गते देउती अस्पतालमा उपचारका लागि आएका थिए । कोरोना सर्न सक्ने आशंकामा देउती अस्पतालका स्वास्थ्यकर्मीहरूको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हो ।

मृतक सुर्खेतबाट जेठ १६ गते डोल्पा गएका थिए । डोल्पा जानुभन्दा एक दिन अघि उनले देउती अस्पतालमा उपचार गराएका थिए । दमका बिरामी उनको जेठ २० गते होमक्वारेन्टाइमै बसेका बेला मृत्यु भएको थियो । उनको अन्त्येष्टि गरिसकेपछि जेठ २४ गते कोरोना भएको पुष्टि भएको हो ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले ट्राभल हिस्ट्रीका आधारमा उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको जानकारी दिए । उनी वीरेन्द्रनगर–८ खजुरामा बस्थे । उनको सम्पर्कमा आएका सबैको खोजी गरी परीक्षण गर्न थालिएको वाग्लेले बताए ।

डोल्पामा पनि उनीसँग सम्पर्कमा रहेका आफन्त र मलामी गएका व्यक्तिहरूको कोरोना परीक्षण गर्ने तयारी गरिएको गाउँपालिकाका निमित्त
प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले बताए । जैसीका अनुसार मृतकको सम्पर्कमा आएका दुई सय ८० जनाको स्वाब सङ्कलन गर्ने तयारी गरिएको छ ।

प्रकाशित मितिः   २४ जेष्ठ २०७७, शनिबार ०६:०४