कर्णालीको ‘कोरोना इपिसेन्टर’ दैलेख

कर्णाली प्रदेशमा शुक्रवारसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमित चार सय ८९ पुगेका छन् । जसमध्ये दैलेखका मात्रै तीन सय आठ जना छन् । प्रदेशभित्र संक्रमित भेटिएका आठ जिल्लामध्ये पहिलो मात्रै होइन दैलेख नेपालकै सबैभन्दा धेरै संक्रमित भएको तेस्रो जिल्ला बनेको छ ।
दैनिक ठूलो संख्यामा संक्रमित भेटिएको दैलेख कोरोनाको नयाँ ‘इपिसेन्टर’ बनेको छ । बिहीवार दैलेखका एक सय १३ जनामा संक्रमण पुष्टि भएको थियो भने त्यसको भोलिपल्ट शुक्रवार मात्रै थप ९१ जना संक्रमित भेटिएका छन् । भारतबाट फर्किएका र स्वाब परीक्षण गर्न बाँकी संख्या अझ धेरै रहेकाले यो संख्या बढ्ने निश्चितप्रायः छ । यही गतिमा संक्रमित थपिँदै जाने हो भने दैलेख कर्णालीको मात्रै नभएर देशकै कोरोना ‘इपिसेन्टर’ बन्ने खतरा देखिएको चिकित्सकहरू बताउँछन् ।
प्रदेशमा पहिलो पटक जेठ ५ गते दैलेखकै एक जना युवकमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो । प्रदेशभित्र कोरोनाबाट पहिलो मृत्यु पनि दैलेखमै भएको हो । दैलेख र सुर्खेतका एक–एक जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
दैलेखको पनि नारायण नगरपालिका र दुल्लू नगरपालिकामा अवस्था भयावह बन्दै गएको छ । नारायण नगरपालिकामा एक सय ९५ र दुल्लूमा ३८ जना संक्रमित भेटिएका हुन् । संक्रमितको संख्या बढेपछि व्यवस्थापनमा कठिनाइ हुन थालेको छ । संक्रमितको संख्या धेरै भएपछि क्वारेन्टाइनलाई नै आइसोलेसन बनाएर राखिएको छ । जिल्ला अस्पतालमा बनाइएको ४० बेडको आइसोलेसन मात्रै मापदण्ड अनुसारको छ । अन्य ठाउँमा क्वारेन्टाइनलाई नै केही सुधार गरेर आइसोलेसनमा रूपान्तरण गरिएको स्थानीय तहहरूले बताएका छन् ।
नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले आइसोलेसन र उपचारमा खटिने स्वास्थ्यकर्मीको पनि अभाव भएको बताए । उनले भने, ‘डाक्टरविनाको आइसोलेसन बेड छन् । डाक्टर, स्टार्फ नर्सको अभाव छ ।’ उनका अनुसार संक्रमितको संख्या बढ्न थालेपछि क्वारेन्टाइनको रूपमा प्रयोग गरिँदै आएको नारायण क्याम्पसलाई नै एक सय पाँच बेडको आइसोलेसन बनाइएको छ । जिल्ला अस्पताल दैलेखका प्रमुख डाक्टर निरञ्जन पन्तले जिल्ला अस्पतालमा रहेका ४० वटा आइसोलेसन कक्षमा ३५ जनालाई राखिएको बताए । उनका अनुसार जिल्ला अस्पतालमा पाँच वटा आईसीयू र दुई वटा भेन्टिलेटर मात्र छन् ।
दुल्लू नगरपालिका प्रमुख घनश्याम भण्डारीले संक्रमितको संख्या बढ्दै जान थालेपछि आइसोलेसन बेड थप्ने तयारी गरिएको बताए । उनले अहिलेकै गतिमा संक्रमित बढ्दै गए व्यवस्थापन गर्न समस्या हुने र भयावह स्थिति आउने बताए । नगर प्रमुख भण्डारीले सङ्कटका बेला प्रदेश र संघीय सरकार पन्छिएको भन्दै असन्तुष्टी व्यक्त गरे । हालसम्म दैलेखमा भारतबाट मात्रै १२ हजार नागरिक फर्किएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार शुक्रवारसम्म नौ हजार तीनसय ४२ जना क्वारेन्टाइनमा छन् । अझै ३० हजार नागरिक भारतबाट फर्किने अनुमान गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले स्थानीय तहहरूलाई लक्षण नदेखिएका कोरोना संक्रमितलाई स्थानीय तहमै आइसोलेसन बनाएर व्यवस्थापन गर्न पत्राचार गरिसकिएको जानकारी दिए । संक्रमितको संख्या बढ्दै गएपछि डाक्टर र स्वास्थ्य पूर्वाधारका लागि प्रदेश सरकारसँग भनिरहेको उनको भनाइ छ ।
कर्णालीमा अरु प्रदेशको तुलनामा परीक्षण पनि सुस्त छ । सीमित दायरा र सुस्त गतिमै भइरहेको परीक्षणको रिपोर्ट हेर्दा पनि दैनिक दोब्बरको संख्यामा संक्रमित थपिँदै गएका छन् भने प्रदेशका ८ जिल्लामा संक्रमण फैलिसकेको छ । शुक्रवारसम्म रुकुम–पश्चिम र डोल्पा मात्रै संक्रमणबाट जोगिएका छन् ।
परीक्षण बढाउन निर्देशन
कर्णाली प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउन प्रदेशको विधायन तथा प्रदेश मामिला समितिले प्रदेश संकट व्यवस्थापन केन्द्रलाई निर्देशन दिएको छ । दैलेखमा संक्रमितको संख्या बढ्दै गएको भन्दै क्वारेन्टाइनमा रहेका नागरिकको संख्याको आधारमा तत्काल परीक्षण बढाउन पीसीआर मेसिन जडान गर्ने र सम्भव भए अर्को प्रदेशमा समेत स्वाब लगेर परीक्षण बढाउन समितिले निर्देशन दिएको हो ।
शुक्रवार बसेको बैठकले कोरोना भाइरसको ‘रेड जोन’ बन्दै गरेको कर्णाली प्रदेशमा पूर्वतयारीका लागि संकट व्यवस्थापन समितिलाई आवश्यक निर्देशन दिने निर्णय गरेको विधायन समितिका सदस्य धर्मराज रेग्मीले जानकारी दिए । बैठकले प्रदेशभर कम्तीमा पनि दश वटा एम्बुलेन्स र आवश्यक शववाहन खरिदको व्यवस्था गर्न र सो को लागि आवश्यक चालकहरूको व्यवस्था मिलाउन तथा स्वास्थ्यकर्मीहरूको संख्या थपि चेकजाँचको दायरा बढाउन निर्देशन दिएको हो ।
क्वारेन्टाइन तथा आइसोलेसनलगायत आवश्यक ठाउँमा प्रदेश र संघीय सरकारसँग समन्वय गरी नेपाल प्रहरी, सशस्त्र प्रहरीको तालिमे जनशक्ति समेतको परिचालनका लागि व्यवस्थापन गर्न समितिले सुझाएको छ । संक्रमितको संख्या र जोखिमको अवस्थाको आधारमा प्रभावित जिल्ला र पालिकाहरूमा स्वाब संकलन र परीक्षण बढाउनुपर्ने विधायन समितिले सुझाव दिएको छ ।
निषेधाज्ञा जारी
कोरोना संक्रमणको भयावह स्थिति देखापरेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाका दुई पालिकामा शुक्रवार साँझ ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।
जिल्लाको नारायण नगरपालिकाको पूर्वमा लोहोरेखोला, पश्चिममा छामगाड भीरखेत, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लू नगरपालिकाको पूर्वमा माथिल्लो डुङ्गेश्वर चुप्रा श्रीस्थान, पश्चिममा पादुकाखोला कर्णाली राजमार्ग, उत्तरमा भैरबी गाउँपालिका र दक्षिणमा तल्लो डुङ्गेश्वरभित्र नगर्न÷नगराउन हुन यो निषेधाज्ञा जारी गरिएको छ ।
अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा स्थलहरू शुक्रवारदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) तथा संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।
प्रकाशित मितिः २४ जेष्ठ २०७७, शनिबार ०६:०४
साझा बिसौनी ।