कर्णालीमा थप ५४ जनामा कोरोना संक्रमण, संक्रमित ६ सय ४१ पुगे

सुर्खेतः कर्णाली प्रदेशमा आइतबार थप ५४ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा सल्यानका २८, सुर्खेतका २०, दैलेखका तीन र कालीकोटका तीन जनामा संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६ सय ४१ पुगेको छ ।

महाशाखाका अनुसार प्रदेशमा सबैभन्दा बढी संक्रमित दैलेखका छन् । दैलेखमा तीन सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतमा ९१, सल्यानमा एक सय १९, कालीकोटमा २८, जुम्लामा २२ जनामा संक्रमण देखिएको हो । त्यस्तै, जाजरकोटमा पाँच, मुगुमा दुई, हुम्ला र डोल्पामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा एक मात्र जिल्ला रुकुम–पश्चिममा भने हालसम्म संक्रमण देखिएको छैन ।

कर्णालीबाटै परीक्षण गरिएका बझाङ, बाजुरा, अछाम, दोलखा, रामेछाप र गोर्खाका १५ जनामा पनि संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । प्रदेशमा कोरोना संक्रमणबाट सुर्खेत, दैलेख र डोल्पाका एक–एक जना गरी तीन जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   २५ जेष्ठ २०७७, आईतवार १५:१४