जुम्लामा पर्यटक तान्दै तातोपानी
जुम्ला, २१ कात्तिक ।
कर्णाली अञ्चलको जुम्लामा रहेको तातोपानी आन्तरिक पर्यटनको नयाँ गन्तब्य बन्न थालेको छ । जुम्लाको तातोपानी गाविसस्थित तातोपानीको मुहान पर्यटकका लागि नयाँ आकर्षक पर्यटकीय गन्तब्य बनेको हो । सदावहार एउटै तापक्रममा तातोपानी बग्ने उक्त स्थानमा नुहाउन पुग्नेहरूको भीड लाग्न थालेपछि यसले जिल्लाको पर्यटन पर्वद्धनमा नयाँ गन्तब्य थपिएको हो ।
वर्षौदेखि जमिनबाट तातोपानी बगिरहेको उक्त स्थानमा पछिल्लो समय देशका विभिन्न स्थानबाट पर्यटकहरू पुग्ने गरेका छन् । प्रचारप्रसारको अभावमा हालसम्म ओझेलमा पर्दै आएको तातोपानीमा हिजोआज आन्तरिक पर्यटकहरूको भीड लाग्न थालेको हो । पर्यटकहरूको आकर्षण बढ्दै गएपछि स्थानीयले अहिले तातोपानी पर्यटन विकास केन्द्र नै गठन गरेर तातोपानीको संरक्षण तथा प्रर्वद्धनमा जुटेका छन् । जिल्लाभित्र र जिल्ला बाहिरबाटसमेत तातोपानीमा नुहाउन र अवलोकन गर्नका लागि आउेनहरूको संख्या बढेपछि स्थानीय बासिन्दाको आयआर्जनमा पनि बृद्धि भएको छ ।
शरिर नै पोल्ने तातोपानीमा नुहाउँदा बाथरोग निको हुने बिश्वासका कारण पनि मानिहरू यहाँ पुग्ने गरेका छन् । यो पानीमा नुहाउँदा बाथरोग निको हुने बिश्वासकै कारण मानिसहरू पछिल्लो समय तातोपानीमा आउनेक्रम बढेको स्थानीयको भनाइ छ । अवलोकनका लागि आउनेहरूको भीड बढ्न थालेपछि अहिले उक्त स्थानमा होटलहरू स्थापना भएका छन् । यस्तै अन्य सामाग्रीका लागि पसलहरूसमेत खुलेका छन् । यसले स्थानीय बासिन्दाको आम्दानीको स्रोत बढेको छ । अर्कोतर्फ तातोपानीमा नुहाउन र अवलोकन गर्न पुग्नेहरूबाट शुल्क लिने गरिएको छ । उक्त शुल्क गाउँमा सार्वजनिक हितमा लगानी गर्ने गरिएको तातोपानी पर्यटन विकास केन्द्रका कर्मचारी बखतबहादुर बुढाले बताए । उनका अनुसार तातोपानीमा नुहाएवापत जिल्ला बाहिरको भएमा प्रतिब्यक्ति ३०, जिल्लाभित्रको भए २० र उक्त गाविसको ब्यक्ति भए १० रूपैयाँ शुल्क तोकिएको छ ।
तातोपानीमा नुहाउन पुगेका छिमेकी जिल्ला कालिकोटको दाहा गाविसका कृष्णप्रसाद उपाध्यायले आफू तेस्रो पटक नुहाउनका लागि आएको बताए । उनले भने,‘यस्तो चिसो ठाउँमा पनि शरिर नै पोल्ने पानी बगेको छ, यो पानीले नुहाउँदा बाथरोग र शरिरमा दुख्ने अनेकौं समस्याको समाधान हुन्छ । मैले पहिला पनि नुहाएको थिएँ, निको भएकाले यसपाली परिवारलाई ल्याएर आएको हुँ ।’ उनका अनुसार रातभर तातोपानीको तलाउमा बस्ने र विहानमा घर फर्कदा शरिर दुख्ने समस्या निको हुने गरेको छ । जुम्ला कनकासुन्दरीका जयबहादुर बुढा आफ्नी ६५ वर्षिया आमालाई नुहाउनका लागि भन्दै तातोपानी पुगेका थिए । उनले पनि तातोपानीमा नुहाँउदा आमालाई अस्पताल लैजानु नपरेको दाबी गरे । विगत चार वर्षदेखि आफूले आमालाई यही पानीले नुहाउने गरेको बताए । उनका अनुसार तातोपानीमा नुहाउनका लागि मानिसहरू दुई दिनको पैदल हिँडेर आउने गरेका छन् ।
तातोपानीको अवलोकनका लागि आउनेहरूबाट मासिक ५० हजारभन्दा बढी रकम आम्दानी हुने गरेको तातोपानी पर्यटन विकास केन्द्रले जानकारी दिएको छ । अहिले केन्द्रले तीन जना कर्मचारीसमेत राखेको छ । टाढाटाढाबाट मानिसहरू आउने र रातको समयमासमेत नुहाउनेहरूको भीड हुने भएकाले होटल र अन्य ब्यापार पनि फस्टाएको स्थानीय हर्कबहादुर रोकायाले बताए । उनका अनुसार तातोपानीमा आउने पर्यटकले जुम्लामै उत्पादन हुने स्याउ, सिमी, ओखर, मार्सी धानको चामल र फापरको पीठो खरिद गर्ने गरेका छन् । यसले गर्दा पनि तातोपानी पर्यटनका लागि नयाँ गन्तब्य बनेको उनको भनाइ छ । हिजोआज रारा तालको अवलोकनका लागि जानेहरू जुम्लाको तातोपानीको अवलोकनका लागि पनि पुग्ने गरेका हुन् । यसले जुम्लाको पर्यटन विकासमा टेवा पुगेको स्थानीयको भनाइ छ । तातोपानीमा नुहाउनका लागि महिला र पुरुषका लागि छुट्टाछुट्टै धाराको व्यवस्था गरिएको छ । यस्तै तलाउ पनि निर्माण गरिएको छ, जहाँ मानिसहरू रातभर त्यही तलाउमा शरिर डुबाएर बस्ने गर्दछन् ।
प्रचारको अभावमा ओझेलमा पर्दै आएको तातोपानीको संरक्षण र विकासमा राज्यबाट सहयोग नभएको स्थानीयको गुनासो छ । स्थानीय बासिन्दा हाल यही पानी पिउने र कपडा धुने काममा प्रयोग गर्दै आएका छन् । स्थानीयले आफूहरूका लागि खानेपानीको अर्को विकल्प गर्न माग गर्दै तातोपानीको संरक्षणका लागि सरकारलाई सहयोगको आग्रह गरेका छन् । तातोपानीको संरक्षण र विकास भए समग्र जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने उनीहरूको भनाइ छ ।
प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १०:५४
साझा बिसौनी ।