अन्त्येष्टि पछि कोरोना पुष्टि
डोल्पाको जगदुल्ला गाउँपालिका वडा नं. ३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अन्त्येष्टि भइसकेपछि मात्रै उनीमा शनिवार कोरोना संक्रमण पुष्टि भएको हो । उनको जेठ २० गते मृत्यु भएको थियो ।
दमका रोगी उनी जेठ १६ गते सुर्खेतबाट डोल्पा गएका थिए । आरडीटी गरिएको र नेगेटिभ रिपोर्ट आएपछि होम क्वारेन्टाइनमै बसिरहेका बेला मत्यु भएको वडा अध्यक्ष लालबहादुर बोहोराले जानकारी दिए । उनको मृत्यु भएपछि स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो । तर उनको रिपोर्ट नआउँदै अन्त्येष्टि गरिएको थियो । उनी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ खजुरामा बस्थे । दमको बिरामी भएकाले उनी विगत एक डेढ वर्षदेखि सुर्खेत बस्दै आएका थिए ।
उनी डोल्पा जाँदै गर्दा बाटोमै बिरामी परेको वडा अध्यक्ष बोहोराले बताए । ‘आरडीटी परीक्षण गर्दा नेगेटिभ आएपछि दमले नै मृत्यु भएको हो कि भनेर दाहसंस्कार भयो,’ उनले भने, ‘आरडीटी परीक्षणले भुक्कायो । कोरोना भएको थाहा पाउन सकिएन । जोखिम बढ्यो ।’
उनका अनुसार मृतकमा कोरोना पुष्टि भएपछि गाउँमा त्रास बढेको छ । मलामी कति जना गएका थिए भन्ने एकिन भएको छैन । गाउँका झण्डै दुई सय जना उनको सम्पर्कमा रहेको जानकारी आएको वडा अध्यक्ष बोहोराले बताए । उनका अनुसार मृतक जेठ १५ गते उपचारका लागि वीरेन्द्रनगरको देउती अस्पतालमा पुगेका थिए । गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत केशबराज जोशीका अनुसार डोल्पा जाँदा मृतकसँगै २३ जना एउटै गाडीमा गएका थिए ।
प्रकाशित मितिः २५ जेष्ठ २०७७, आईतवार ०६:०४
साझा बिसौनी ।