लकडाउनः समस्या कि समाधान !

गत डिसेम्बर २०१९ देखि चीनको वुहानबाट फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरस अहिले विश्वभरी फैलिरहेको अवस्था छ । यसले सबैभन्दा पहिले चीनमा असर पारेको थियो भने त्यसपछि युरोपका धेरै मुुलुकमा (खासगरी इटलीमा) हुँदै अमेरिका, रुस र भारत समेतमा प्रभाव पारेको छ । र, हाल नेपालमा पनि यसले विकराल रूप लिएको त सर्वविदितै छ ।
२०७६ चैत्र ११ गतेदेखि हामी (लकडाउन) बन्दाबन्दीमा बसेको पनि तेस्रो महिना पुग्नथाल्यो । नेपालमा नसोचेका संख्यामा कारोना भाइरसको संक्रमण पनि फैलिरहेको अवस्था छ । सँगसँगै भारतमा अप्रत्यासित रूपमा फैलिएको यो भाइरसका कारण त्यहाँ कार्यरत नेपालीहरूलाई भारतले रेल सेवा सुरु गरेर नेपाल पठाउने कार्य गरेपछि नेपालमा झनै त्रास फैलिरहेको अवस्थामा नेपालले पनि सजगता अपनाउनुनै पर्यो ।
लकडाउनले कसलाई रोकेन ?
राजनीतिक दलका कार्यकर्ता, नेता र ठूला व्यापारीहरूले सुरुवाती अवस्थामा सरकारबाट पास लिएर आफ्ना कार्य गरे र पछिल्लो समयमा पास पनि नचाहिने भयो । त्यसपछि नेपाल सरकारका कर्मचारीहरू पनि आफ्नो परिचय–पत्र घाँटीमा झुण्डाएर काममा गए, सुरक्षाकर्मीहरू पनि सुरक्षाका लागि काममा व्यस्त रहे, स्वास्थ्यकर्मी त प्राइम घेरामा नै बस्नु पर्यो । जुनकुरा आवश्यक पनि हो । उनीहरूको तलब रोकिएन, भत्ता रोकिएन र काम पनि रोकिएन । जसलाई आर्थिक समस्या थिएन उनैलाई रोकेन ।
लकडाउन सुरुभएदेखि घरमै बसिरहने भनेका दैनिक कामगरी खाने वर्ग, मजदुर, साना खुद्रा पसले, साना अन्य व्यवसायीहरू, यात्रुवहाक गाडीहरू र तिनमा काम गर्ने वर्ग, विद्यार्थीवर्ग घरमै बस्न बाध्य पारियो । यसले गर्दा काम गरी खानेवर्ग भोकले मर्नु प¥यो । आत्महत्याका घटना भए । घरमा बस्दा मानिसहरूले धेरै समस्याहरू खेप्नु पर्यो । उनीहरूको तलब पनि भएन, साहूले पत्याउँदैन र घरमा भएको खाद्यान्न पनि सकिंदै गयो । सरकारले दिएको राहत हात्तीको मुखमा जिरा भयो । यसले गर्दा यस देशमा समस्या दिन प्रतिदिन थपिंदै गयो ।
विदेशमा समस्या
विदेशमा रोजगारीका लागि गएका नेपाली दाजुभाइहरू पनि समस्यामा परे । कम्पनीले काम रोक्यो । आफूसँग भएको पैसाले केही दिन त धान्यो तर पछि त्यसले पनि काम गर्न छाडेपछि विदेशमा भएका नेपालीले खान समेत पाउन छाडे । भारतबाट मात्र सैयौं नेपाली हिँडेर नेपालको आफ्नो घरको यात्रा तय गरे ।
कतिपय त्यहीं बाटोमै ज्यान गुमाउन पुगे भने कतिले निकै मुस्किलले आफ्नो परिवार भेट्टाए । नेपालमा भन्दा विदेशमा नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु पर्यो । नेपालमा करिब १३ जनाले कोरोना कारण ज्यान गुमाए भने विदेशमा एक सय भन्दा बढीले ज्यान गुमाउनु पर्यो । त्यहाँ रहेका नेपालीले न नेपालको माया पाए न आफ्नो परिवारको । यस्तो अवस्थामा न आफ्ना जनता ल्याउन सक्ने न त्यही देशलाई पठाइदिन अनुरोध नै गर्न सक्ने भयो । तर अहिले सम्बन्धित देशले आफ्नै खर्चमा नेपालीहरूलाई स्वदेश पठाउने कार्य थालेको छ त्यो स्वागतयोग्य पनि छ ।
क्वारेन्टाइनमा कसले दुःख पायो ?
वास्तवमा क्वारेन्टाइनमा बस्न बाध्य पनि तिनै दुःखी गरिब जो अरु देशमा गएर काम गर्ने वर्ग नै प¥यो । नेपालका धेरैजसो क्वारेन्टाइनहरू पनि मापदण्ड अनुरूप बन्न सकेनन् । कतै गोठमा क्वारेन्टाइन बनाइएको छ भने धेरैजसो ठाउँमा विद्यालयहरूलाई बनाइएको छ । अव्यवस्थित तरिकाले एउटै कोठामा धेरै मान्छेहरूलाई राखिएको अवस्था छ । यो अव्यवस्थित क्वारेन्टाइनका कारण नबढ्ने कोरोनाको संक्रमण पनि बढीरहेको अवस्था छ ।
कोरोना परीक्षणमा समस्या
वास्तवमा आरडीटी टेष्ट भरपर्दो छैन । यो गर्दै नगर्नुहोस् भनेर विभिन्न विज्ञ र विज्ञ संस्थाहरूले भनिरहँदा समेत नेपालमा भने त्यही विधि धेरै अपनाइएको छ । संक्रमितको मृत्युपछि कोरोना पुष्टि यसैको कारण हो । धेरैजसो केसहरू संक्रमितको मृत्यु पश्चात् कोरोना पुष्टि भएका केसहरू छन् ।
अचम्म के भने उक्त संक्रमितको सम्पर्कमा आएकाहरू पनि पुनः संक्रमित हुन सक्छन् र उनीहरूलाई पनि फेरि आरडीटी टेष्ट नै गरिदैं छ । यस्ता असुरक्षित विधिले नेपाल झन् ठूलो समस्यामा पर्ने हो कि भन्ने आशंका बढिरहेको छ ।
के भइरहेको छ ?
अब नेपालमा कोरोनाका कारणले भन्दा भोकको कारणले धेरै नेपालीको मृत्यु हुन सक्छ । कर्णाली प्रदेशको प्रसङ्ग फरक छ । यहाँ खेतीयोग्य जमिन कम छ । खेती गरेर वर्षभरी खाना पुग्दैन । नेपाल सामान्य अवस्थामा रहँदा समेत ७ प्रतिशत कर्णालीवासी कम्तीमा एक दिन भोकै बस्नु परेको सरकारी तथ्याङ्कले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले तयार पारेको प्रतिवेदन अनुसार आय–आर्जन र स्थानीय श्रोत साधन लगायत अभावले भोकै बस्नु परेकोे देखाएको छ ।
यो अवस्थामा नेपालका कतिपय परिवारहरूले विगत हप्तादेखि खोले र जाउलो बनाएर खान थालेका छन् । वनमा गएर गिठा खनेर ल्याएर खान थालिसकेका छन् खानाको रूपमा । वास्तवमा गिठा भ्याकुर पनि खाने चिज हो तर खानाकै रूपमा वा छाककै रूपमा खाएर बाँच्न भने अवश्य गाह्रो हुन्छ । यसले मात्र शरीरको पौष्टिक तत्व पूरा गर्न सक्दैन । तपाईं सरकारका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू ती बस्तीहरूमा गएर अवलोकन गर्नु भए राम्रो हुने थियो । नेपाल सरकारले सबै नेपाली धनी छन् भनेर आँकलन ग¥यो । तर, एडीबी (एसियन डेभेलोपमेन्ट बैंक)को प्रतिवेदनले भन्छ कि अझै पनि नेपालमा २१ प्रतिशत मानिसहरू गरिबीको रेखामुनी (दैनिक १.९ अमेरिकी डलरभन्दा कम आम्दानी हुने) छन् । बेरोजगारी दर १.४ प्रतिशत छ । र राष्ट्रिय योजना आयोगको प्रतिवेदनले भन्छ २८.६ प्रतिशत जनता बहुआयामिक गरिबीमा छन् । यसमा कर्णाली अझ प्रताडित छ । वीरेन्द्रनगर नगरपालिकाको १६ वटै वडामध्ये वीरेन्द्रनगर नगरपालिका वडा नंं. १ देखि १२ सम्मको क्षेत्रमा धरै काम गरी खाने वर्गहरूको बसोवास छ । खासगरी खोर्केखोला, इत्रामखोलाको क्षेत्रमा काम गरी खानेवर्ग धेरै देख्न सकिन्छ । यसैगरी वडाका अन्य क्षेत्रमा पनि गरिबी व्याप्त नै छ । थोरै जमिन भएका र असंगठित क्षेत्रमा काम गर्ने, दैनिक ज्याला मजदुरी गरेर खाने जनसमुदायको संख्या ठूलै छ । त्यसैगरी कर्णाली प्रदेशभरी थुप्रै जनसमुदाय गरिबीको रेखामुनी भएको विभिन्न तथ्याङ्कहरूले देखाउँछ ।
अब के गर्दा उपयुक्त हुन्छ ?
खरायोको गतिमा कोरोना संक्रमण, कछुवा गतिमा स्वास्थ्य मन्त्रालयको गति देख्दा अचम्म लाग्छ । यसका लागि टेष्टको गति बढाउने, क्वारेन्टाइनको स्तरोन्नति गर्ने र पीसीआर टेष्टलाई बढाएर नेगेटिभलाई घरमा पठाउने तथा पोजेटिभलाई थप उपचार गरी आइसोलेसनमा राखेर उपचार गर्नु भएमा राम्रो हुने थियो भने लकडाउनलाई खुकुलो पार्दै लैजानु पर्दछ ।
प्रकाशित मितिः २५ जेष्ठ २०७७, आईतवार ०६:०२
साझा बिसौनी ।