परीक्षण बढाऊ

कर्णाली प्रदेशमा ढिलागरी कोरोना संक्रमित भेटिए । विशेषगरी जेठ सुरु भएदेखि भारतबाट आएका नागरिकहरूमा संक्रमण देखियो । जेठ ५ गते दैलेखका एक युवामा पहिलो पटक संक्रमण पुष्टि भएको थियो । त्यसयता संक्रमित भेटिने गती यति तीव्र भएको छ कि तीन सातामै ६ सय पुग्न थालिसकेको छ । शनिवारसम्म प्रदेशमा संक्रमितको कूल संख्या पाँच सय ८७ पुगेको छ । १० जिल्लामध्ये नौ वटामा संक्रमित भेटिँदा रुकुम पश्चिममा मात्रै संक्रमण पुष्टि भएको छैन । मृतकको संख्या पनि तीन पुगिसकेको छ ।

पछिल्ला दिनहरूमा दैनिक एक सयको हाराहारीमा नयाँ संक्रमित फेला परिरहेका छन् । यसले पनि यो संख्या अझै बढ्ने देखाएको छ । सँगसँगै अर्को तथ्य के पनि छ भने अहिलेसम्म जति परीक्षण गरिएको छ पर्याप्त छैन । अति न्यून न छ । कर्णालीमा भारतबाट फर्किएकाहरूको संख्या २२ हजार भन्दा बढी पुगिसकेको छ । जबकी शनिवारसम्म प्रदेशभित्र नौ हजार ८ सय ३६ जनाको मात्रै आरटी–पीसीआर परीक्षण गरिएको छ । जसमध्ये पाँच सय ८७ जनामा संक्रमण पुष्टि भएको हो । अहिलेसम्म संक्रमित देखिएका धेरैजसो भारतबाट फर्किएकाहरू हुन् । भारत पछिल्लो समय सबैभन्दा धेरै संक्रमति भेटिएको मुलुक हो । यसकारण पनि भारत उच्च जोखिमयुक्त क्षेत्र हो । त्यहाँबाट फर्किएका नागरिकमा जोखिम बढी हुनुको कारण पनि यही हो । रोजगारीका शिलशिलामा भारतमा रहेकाहरू पछिल्लो समय दैनिकजसो स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किएकामध्ये आधाभन्दा पनि कममा मात्रै पीसीआर परीक्षण गरिएको छ । धेरैजसोमा आरडीटी परीक्षण गएिको छ । तर आरडीटी परीक्षणलाई भरपर्दो मानिएको छैन । आरडीपी परीक्षणमा नेगेटिभ रिपोर्ट आएकाहरूमा पनि पीसीआर गर्दा पोजेटिभ देखिएको छ । तर कर्णालीमा भने आरडीटी परीक्षणलाई नै प्राथमिकता दिइएको छ भने पीसीआर परीक्षण न्यून छ । जबकी बढाउनुपर्ने पीसीआर परीक्षण हो । प्रदेशका १९ हजार ६ सय ९१ जनाको आरडीटी परीक्षण गरिएको छ । जसमध्ये चार सय ४१ जनाको पोजेटिभ रिपोर्ट आएको छ । तर पीसीआर गर्दा संक्रमितको संख्या आरडीटीमा पोजेटिभ देखिएका भन्दा बढी छ । यसकारण पनि आरडीटीप्रतिको विश्वसनीयता स्थापित हुन सकेको छैन ।

पीसीआर परीक्षण किट पर्याप्त नुहुन एकातिर समस्या बनेको छ भने संक्रमित बढ्दै जाँदा भयावह अवस्था आउनसक्ने जोखिम पनि बढ्दो छ । परीक्षणको गति सुस्त छ । परीक्षणको दायरा अपरिहार्य छ तर यसका लागि परीक्षण मेसिन पनि थप्न जरुरी देखिएको छ । अहिले प्रदेशमा जुम्ला र सुर्खेतमा भएका परीक्षण मेसिनबाट पर्याप्त परीक्षण हुन नसक्दा संकलन गरिएको नमूनाको पनि समयमै रिपोर्ट आउन सकिरहेको छैन । यसैले कर्णाली प्रदेश सरकारबाट थप प्रभावकारी भूमिकाको अपेक्षा यतिबेला गरिएको छ । संघीय सरकार र स्थानीय सरकारसँगको समन्वय बढाउने र सकेसम्म पीसीआर परीक्षण किटको व्यवस्थापन गर्नेतर्फ ध्यान दिन ढिला भइसकेको छ ।

प्रकाशित मितिः   २५ जेष्ठ २०७७, आईतवार ०६:०१