कोरोनाबाट १३ जनाको मृत्यु

काठमाडौं : नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । डोल्पाका ५८ वर्षीय पुरूष र धनगढीकी ५५ वर्षीया महिलामा मृत्यु भइसकेपछि शनिवार कोरोना संक्रमण पुष्टि भएको हो ।

धनगढीकी महिलाको शुक्रवार सेती प्रादेशिक अस्पतालमा डायलासिस गर्दागर्दै मृत्यु भएको थियो । डोल्पाका पुरूषको गत २१ गते राति २ बजे मृत्यु घरमै भएको थियो ।

उनीहरू दुबैको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए । डोल्पामा मृत्यु भएका पुरूष दमका रोगी थिए । उनी गत जेठ १६ गते सुर्खेतबाट डोल्पा गएर होम क्वारेन्टाइनमा बसेका थिए । मृत्यु भइसकेपछि उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । उनको अन्त्येष्टि गरिसकिएको छ ।

यस्तै सेती प्रयोगशालामा गरेको परीक्षणमा ५५ महिलामा कोरोना पोजेटिभ देखिएको हो। उनी मिर्गौलाको विरामी थिइन् । डायलासिसका लागि सेती प्रादेशिक अस्पताल गएकी उनको दिउँसो १२ बजेतिर मृत्यु भएको थियो। स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

शनिवार कोरोना भाइरसका तीन सय २३ जना संक्रमित भेटिएका छन् । उनीहरू दुई सय ८६ जना पुरूष र ३७ जना महिला छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरू पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिए । योसँगै देशभर संक्रमितको संख्या तीन हजार दुई सय ३५ पुगेको छ । कोरोना निको भएर शनिवार मात्रै ३२ जना घर फर्केका छन् ।

प्रकाशित मितिः   २४ जेष्ठ २०७७, शनिबार १७:५३