कर्णालीमा ९८ जना कोरोना संक्रमित थपिए

सुर्खेत : कर्णाली प्रदेशका शनिवार ९८ जना कोरोना संक्रमित थपिएका छन । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या पाँचसय ८७ पुगेको छ ।

शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल र पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ३८, सुर्खेतका नौँ, जाजरकोटका चार, दैलेखका ४६ र डोल्पाका एक जनामा कोरोना संक्रमण देखिएको समाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सल्यानमा देखिएका सबै बनगाड कुपिण्डे नगरपालिकाका हुन् ।

जाजरकोटका सबै बारेकोट गाउँपालिकाका, सुर्खेतको भेरीगंगाका चार जना, वीरेन्द्रनगरका एक जना, पञ्चपुरी नगरपालिकाका तीन जना र गुर्भाकोट नगरपालिकाका एक जनामा रहेका छन ।

यस्तै दैलेखको दुल्लु नगरपालिकामा तीन जना, महाबु गाउँपालिकामा पाँच महिनाको बालकसहित ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिकामा एक जना पुरुषमा कोरोना संक्रमण देखिएको छ। उनको मृत्यु भइसकेपछि कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित मितिः   २४ जेष्ठ २०७७, शनिबार १७:४७