वीरेन्द्रनगर अब उपमहानगरपालिका !
सुर्खेत २१ कात्तिक । वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका बनाउन दवाव थप बढ्दै गएको छ । यसअघि पटक पटक उपमहानगरपालिकाका लागि प्रस्ताव गरिए पनि अस्वीकृत हुँदै आएको वीरेन्द्रनगरलाई स्थानीय तहको पुनर्संरचना गर्दा पुनः सोही प्रस्ताव अघि सारिएको छ ।
वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउने प्रस्तावसहित सुर्खेतमा स्थानीय तहको टुंगो लगाइएको छ । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले स्थानीय तहको संख्या, सिमांकन र वडा विभाजनको टुंगो लगाउँदै अन्तिम प्रतिवेदन तयार पारेर केन्द्रमा सिफारिस गरिसकेको छ ।
प्रदेश नं. ६ को सम्भावित राजधानीको रूपमा समेत हेरिएको वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउनका लागि प्रस्ताव समेत प्रतिवेदनमार्फत गरिएको समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी अमृत लम्सालले जानकारी दिए । ‘वीरेन्द्रनगर उपमहानागरपालिका बन्नका लागि योग्य छ र यहाँका स्थानीयवासीको माग पनि भएकाले हामीले उक्त मागलाई सम्बोधन गर्दै उपमहानगरपालिकाको लागि समेत प्रस्ताव प्रतिवेदनमा राखेका छौं’ उनले भने ।
उपमहानगरपालिका हुनका लागि आवश्यक एक लाख ५० हजार जनसंख्या वीरेन्द्रनगरमा पुगिसकिएको जनायएको छ । वीरेन्द्रनगरको जनसंख्या २०५८ को जनगणना अनुसार एक लाख एक हजार तीन सय १७ रहेको भएपनि पछिल्लो समय जनसंख्या थप भएकाले उपमहानागर बन्नका लागि आवश्यक जनसंख्या पुग्ने लम्सालले जनाए । वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउन यसअघि पनि पटक पटक माग हुँदै आएको थियो ।
प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १०:४६
साझा बिसौनी ।