जिल्लास्तरीय छनौटको तयारी पूरा, खेलाडीको सहभागिता घट्यो

साझा बिसौनी संवाददाता
सुर्खेत, २ असोज ।
पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगिताको तयारी पूरा भएको छ । असोज ७ गतेदेखि १४ गतेसम्म हुने वीरेन्द्रनगरमा हुने छनौट प्रतियोगिताको सबै तयारी पूरा भइसकेको जिल्ला खेलकुद विकास समिति सुर्खेतले जानकारी दिएको छ ।
यस वर्ष छनौट प्रतियोगितामा खेलाडीहरूको सहभागिता घटेको छ । छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको छनौटमा एक हजार सात सय खेलाडीहरूले सहभागिता जनाएका थिए । तर यस पटक एक हजार एक सय ६५ जनाले सहभागिता जनाउन लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले जानकारी दिए । आठ सय ११ जना पुरुष र तीन सय ५४ जना महिला खेलाडीहरूले प्रतियोगितामा सहभागिताका लागि सम्पर्कमा आएको उनले जनाए । यस पटकभन्दा अघिल्लो प्रतियोगितामा पाँच सय भन्दा बढी खेलाडीहरूले सहभागिता जनाएका थिए । राष्ट्रिय प्रतियोगिताको मिति पटक–पटक सरेकाले पनि खेलाडीहरू यस पटक उत्साही नबनेको गिरीले बताए ।
जिल्लाबाट छनौटमा परेका खेलाडीहरू क्षेत्रीय छनौट प्रतियोगितामा सहभागिता जनाउनेछन् । क्षेत्रीय छनौट प्रतियोगिताबाट छनौट भएपछि राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष गिरीले जानकारी दिए । विभिन्न १७ वटा विधाका दुई सय ५३ जना खेलाडीले जिल्लाबाट छनौट भएर क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । जिल्लास्तरीय छनौटपछि क्षेत्रीय छनौट प्रतियोगिता आयोजना गरिनेछ । केही खेलका क्षेत्रीय प्रतियोगिता सुर्खेतमा पनि आयोजना हुने जनाइएको छ । कुस्ती र उसुको क्षेत्रीय छनौट प्रतियोगिता सुर्खेतमा आयोजना हुने करिब निश्चितजस्तै भइसकेको जानकारी दिँदै अध्यक्ष गिरीले अन्य खेलहरू पनि सुर्खेतमा आयोजना गर्न पहल भइरहेको जानकारी दिए ।
छनौट प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले जिल्ला खेलकुद विकास समिति सुर्खेतलाई तीन लाख ८० हजार बजेट प्रदान गरेको छ । सोही बजेटबाट खेलाडीहरूको पोशाकदेखि प्रतियोगिता सञ्चालनसम्म गर्नुपर्नेछ । जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीहरूका लागि विशेष प्रशिक्षण पनि गराइने खेलकुद विकास समितिले जनाएको छ । यद्यपि विशेष प्रशिक्षण कति दिनको हुने भन्ने टुङ्गो भने लागिसकेको छैन । बजेटको अवस्था हेरेर टुङ्गो लगाइने जनाइएको छ ।

प्रकाशित मितिः   ३ आश्विन २०७३, सोमबार १०:२७