नगरपालिकाको वार्षिक समीक्षा

साझा बिसौनी संवाददाता
सुर्खेत, २ असोज ।
वीरेन्द्रनगर नगरपालिकाले एक वर्षमा गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ । आइतवार कार्यालयले आव २०७२÷०७३ मा भए गरेका गतिविधिहरूको वार्षिक समीक्षा गोष्ठीको आयोजना गरी कार्यालयले गत एक वर्षमा प्राप्त गरेका उपलब्धीहरू सार्वजनिक गरेको हो ।
कार्यालयका वरिष्ठ प्रशासन अधिकृत प्रकाश पौडेलले गोष्ठीमा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आव २०७२÷०७३ मा कार्यालयले गरेको उपलब्धीका बारेमा जानकारी दिएका थिए । उनले सिटी बसपार्क निर्माण भइरहेको, वडा नम्बर ७ लाई बालमैत्री वडा घोषणा गरिएको, वातावरणमैत्री वडा घोषणाका लागि वडा नम्बर १० र १ ले आधारभूत सूचक पूरा गरेको, उद्योग वाणिज्य संघको संयोजनमा नागरिक समाजको अगुवाइमा साप्ताहिक बजार सरसफाइ अभियान सञ्चालन गरिएको, बजार क्षेत्रका घरहरूमा कौसी खेतीमा प्रोत्साहित गरिएको, ७ वटा स्वस्थ समुदाय घोषणा, महिला तथा विपन्न वर्गहरूमा स्वरोजगारमा वृद्धि गमला निर्माण, ढाका उद्योग, तरकारी खेती, सिलाइ–कटाई, वडा नागरिक मञ्चबाट सडक बत्ती व्यवस्थापन तथा मुख्य बजार क्षेत्रमा सोलारबत्ती जडान र वडा नम्बर ४ र ११ मा बाल सुलभ केन्द्र सञ्चालन भएको जानकारी दिएका थिए ।
कार्यालयमा लेखा शाखामा कम्प्युटर लेखा प्रणाली शुभारम्भ, निजी क्षेत्रद्वारा मुख्य बजार क्षेत्रको फोहोर व्यवस्थापन, कम्पोष्ट प्लान्ट निमार्ण भइ सञ्चालनको तयारी, २५ वडाको समयमै योजना तर्जुमा बैठक र नगर परिषद् समयमै सम्पन्न जस्ता उपलब्धी भएको पौडेलको भनाइ थियो । उनले कार्यालयका विभिन्न समस्याहरू हुँदाहुँदै पनि कार्यालयले राम्रो उपलब्धि हासिल गरेको बताए । त्यस्तै लेखा प्रमुख रामदत्त सापकोटाले लेखा राजस्व प्रगति प्रतिवेदन र वरिष्ठ इन्जिनियर जनकबहादुर शाहीले योजना शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले कार्यालयले योजना तथा कार्यक्रमहरू गर्ने तर, त्यसको प्रभावकारी अनुगमन र निर्देशन भने नदिएको गुनासो राखेका थिए । उनीहरूले वीरेन्द्रनगर बजार क्षेत्रका मात्र सोलारबत्ती जडान नगरी वडास्तरमा समेत सोलारबत्ती जडान गर्नुपर्ने माग राखेका थिए । विभिन्न राजनीतिका प्रतिनिधि, कर्मचारी, सेवाग्राही लगायतको सहभागिता रहेको कार्यक्रम वीरेन्द्रनगर नगरपालिका प्रमुख बालाराम शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः   ३ आश्विन २०७३, सोमबार १०:२०