‘संविधान महिलामैत्री छ’
सुर्खेत, २ असोज । (सबिस)
क्रियाशील पत्रकार महिलाहरूको सङ्गठन डब्लूडब्लूजेले आइतवार वीरेन्द्रनगरमा ‘संविधानमा महिलाअधिकार, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संविधान दिवसको अवसर पारेर संगठनले यस्तो कार्यक्रम गरेको हो ।
कार्यक्रममा अखिल नेपाल महिला संघ सुर्खेतका अध्यक्ष मोहनमाया ढकालले धेरै वर्ष पछिको मेहेनत तथा विभिन्न आन्दोलनले मात्र महिलाहरूले आफ्नो अधिकार प्राप्त गर्न सफल भएको बताइन् । धेरै वर्षदेखि पछाडि पारिएका महिलालाई अगाडि बढाउन, उनीहरूलाई साथ दिन तथा हरेक क्षेत्रमा महिला पुरुषको समान सहभागिता कायम गर्न संविधानले सहयोग गर्ने उनले बताइन् । यसअघिका संविधानभन्दा अहिले कार्यान्वयनमा रहेको संविधान महिलामैत्री भएको उनको भनाइ छ । संविधानमा व्यवस्था भएका कुरा कार्यान्वयन गर्नसके मात्र महिला र पुरुषबीचको विभेद हटेर समान समाज निर्माण हुन सक्ने उनको धारणा थियो ।
कार्यक्रममा रेडियो नेपालमा कार्यरत पत्रकार डम्मर आचार्यले संविधानमा महिलाको अधिकार सुनिश्चित गरिए पनि कतिपय महिलालाई संविधानबारे जानकारी नहुनाले उनीहरूले आफ्नो अधिकार लिन नसकेको बताइन् । त्यस्तै कतिपय महिलाले भने संविधानबारे जानकारी भएर पनि सामाजिक संस्कारकै कारणले आफ्नो अधिकार लिन नसकेको आचार्यको भनाइ थियो । कार्यक्रममा डब्लूडब्लूजे सुर्खेत शाखाकी अध्यक्ष मुना हमालले संविधानमा भएका महिला अधिकारबारे जानकारी गराउन हरेक पत्रकारको भूमिका महŒवपूर्ण रहने बताइन् । कार्यक्रममा सुर्खेतमा क्रियाशील रहेका पत्रकार महिलाहरूको उपस्थिति रहेको थियो ।
साझा बिसौनी संवाददाता ।