घरमै पुगेर हात धुवाउँदै महिला

1234

साझा बिसौनी संवाददाता
(छिन्चु) सुर्खेत, २ असोज ।
गाउँमा वर्षेनी झाडापखालाको प्रकोप । पाँच वर्षमुनीका बालबालिकाहरू बिरामी भएर हैरान । अस्पतालमा उपचार गराउँदा पनि बचाउन हम्मे–हम्मे । अनेक उपाय लगाउँदा पनि गाउँमा झाडापखालाको संक्रमण रोकिएन । वर्षैपिच्छे गाउँमा पखालाको संक्रमणले सताएपछि त्यसबाट बच्न पूर्वी सुर्खेतको छिन्चुका महिलाहरूले घरघरमै पुगेर हात धुवाउन थालेका छन् ।
गाउँमा अधिकांश बालबालिकाहरू बिरामी हुने र संक्रमणले गाउँलेहरू पनि थला पर्ने समस्या देखिएपछि स्थानीय महिलाहरूले हिजोआज हात धुने अभियान चलाएका हुन् । बढीजसो बालबालिका बिरामी हुने र उनीहरूको उपचार गर्दागर्दै हैरान भएपछि स्थानीय महिलाहरूले त्यसबाट जोगिन नयाँ जुक्ति निकालेका हुन् । अहिले महिलाहरूले हरेक घरमा पुगेर स्थानीय बासिन्दालाई साबुन पानीले हात धुने तरिका सिकाउन थालेका छन् । गाउँका विभिन्न टोलमा महिलाहरूले सरसफाइ समूह नै गठन गर्दै साबुन पानीले हात धुवाउने अभियानलाई तीव्रता दिएका छन् ।
मध्यरातमा बिरामीको उपचार गर्नुपर्ने समस्या झेल्दै आएका स्थानीय महिला स्वास्थ्य स्वयम्सेविकाहरू मिलेर घरदैलो अभियान चलाइरहेका छन् । ‘घरमा शौचालय प्रयोगको अवस्था हेर्छौं, साबुनले हात धोए नधोएको बारेमा पनि अनुगमन गर्छौं’ कालीदमार टोलकी महिला स्वास्थ्य स्वयम्सेविका खगीसरा नेपालीले भनिन्, ‘हामीले हरेक दिन दैलोमै पुगेर साबुनले हात धुन सिकाइरहेका छौं, बच्चाहरू त बानी नै परिसके । बरु ठूला मान्छेहरू नै हात धुन बिर्सन्छन्, तर बालबालिकाहरूले हिजोआज साबुनले हात नधोएसम्म खाना खाँदैनन् ।’ खुला स्थानमा दिसा गर्ने र हात नधुने बानीका कारण गाउँमा रोगको संक्रमण फैलिने गरेकाले आफूहरूले हात धुन सिकाउँदै हिँडेको उनको भनाइ छ । स्वयम्सेविकाहरूले घरमै पुगेर हात धुवाउने अभियान चलाएपछि गाउँलेहरू स्वयम्सेविका देख्नेवित्तिकै शौचालय सफा गर्ने र साबुनले हात धोएको प्रमाण देखाउन हतारिन्छन् ।
महिलाहरूले सरसफाइ अभियान थालेपछि गाउँको मुहार नै फेरिएको छ । सबैको घरमा पक्की शौचालय बनेका छन् । स्थानीयले शौचालय, आँगन, सार्वजनिक स्थल सफा राख्नुका साथै साबुन पानीले हात धुने बानीको विकास गरेका छन् । २० वर्षदेखि गाउँमा स्वयम्सेविकाको रूपमा काम गर्दै आएकी बेलमती वलीले भनिन्, ‘पहिला त बाटोमा नाक थुनेर हिँड्नुपथ्र्यो, मान्छेहरूले शौचालयमा दिसा गर्थेनन् । गाउँमा हरेक वर्ष झाडापखाला फैलिन्थ्यो, साना बच्चाबच्ची त जोगाउनै मुस्किल हुन्थ्यो ।’ पछिल्लो एक वर्षयता भने सबैले चर्पीमा मात्र दिसा गर्ने र घरआँगन सफा राख्न थालेको उनको भनाइ छ । उनले थपिन्, ‘हामी अहिले घरको काम छोडेरे गाउँलेको दैलोमा जान्छौं, शौचालयको सरसफाइ हेर्छौं । स्कुलमा गएर बालबालिकालाई साबुन पानीले हात धुने तरिका सिकाउँदै आएका छौं, यो वर्ष त गाउँमा पखाला नै देखिएन ।’
सुरुवातमा शौचालयमा दिसा गर्न र साबुनले हात धुन सिकाउँदा गाउँलेहरूले आफूहरूलाई उल्टै यातना दिएको स्वयम्सेविकाहरूले सुनाए । स्वयम्सेविका विमला वली भन्छिन्, ‘साबुनले हात धुने बानीले पाँच वर्षमुनीका बालबालिका स्वस्थ भएका छन्, पहिलेको जस्तो बालबालिकालाई अस्पतालमा लैजानु परेको छैन । हामीकहाँ पनि औषधिको लागि आउनेको संख्या धेरै घटेको छ, साबुनको प्रयोग बढेपछि बच्चाबच्ची स्वस्थ छन् ।’ गाउँमा सरसफाइको क्षेत्रमा काम गर्दै आएको सुन्दर नेपाल संस्थाले शौचालय निर्माणमा सहयोग गरेको हो । तर शौचालयको प्रयोग नभएको भेटिएपछि स्वयम्सेविका र आमा समूहले अनुगमन थालेका हुन् । हिजोआज गाउँका महिलाहरूले खुला स्थानमा दिसा गर्नेलाई आर्थिक जरिवाना र सामाजिक बहिस्कारसम्मको कारबाही गर्दै आएका छन् । स्थानीय ६ वर्षीया बालिका एलिसा केसीले आफूहरूले साबुन पानीले हात धोएर मात्र खाना खाने गरेको बताइन् ।
स्थानीय सामाजिक परिचालक पवित्रा कठायतले महिलाहरू नै अग्रसर भएपछि गाउँलाई अघिल्लो वर्ष खुला दिसामुक्त घोषणा गरिएको बताइन् । अब पूर्ण सरसफाइयुक्त गाउँ बनाउनका लागि प्रयास भइरहेको उनको भनाइ छ । छिन्चुमा सरसफाइको क्षेत्रमा काम गर्दै आएको सुन्दर नेपालका कार्यक्रम संयोजक गणेशबहादुर वली भन्छन्, ‘स्थानीय महिला र स्वास्थ्य स्वयम्सेविकाहरू जुटेपछि शौचालयको प्रयोग बढ्यो, मान्छेहरूमा साबुन पानीले हात धुने संस्कारको पनि विकास भएको छ ।’ शौचालयको प्रयोग, साबुन पानीले हात धुने बानी, घर आँगन र वातावरणीय सरसफाइको अवस्थामा सुधार आएपछि गाउँलाई पूर्ण सरसफाइयुक्त घोषणा गरिने उनको भनाइ छ । उनले साबुनले हात नधुने बानीकै कारण बालबालिका र वयस्कहरूमा विभिन्न रोगको संक्रमण फैलिने गरेकाले पनि आफूहरूले महिलाहरू परिचालन गरेर हात धुवाउने अभियान चलाएको जानकारी दिए ।

प्रकाशित मितिः   ३ आश्विन २०७३, सोमबार १०:११