सासुआमाले पठाएको काफल

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस ‐कोभिड–१९) नेपालमा भित्रिसकेको थिएन । तर नेपाललाई उच्च जोखिमको रूपमा भने विश्व स्वास्थ्य संगठनले राखेको थियो । चीन र भारतको बीचमा रहेको हाम्रो देशमा पनि एकखालको त्रास पैदा भइसकेको थियो ।
उत्तरतर्फको छिमेकबाट सुरु भएको महामारीको बाँछिटा दक्षिणतर्फको छिमेकी भारतमा परिसकको मात्र थिएन फैलिँदै गइरहेको थियो । यसकारण पनि नेपाल जोखिमयुक्त थियो । ठूलो संख्यामा नेपालीहरू रोजगारीका लागि भारतमा थिए । कोरोनाको त्राससँगै उनीहरू स्वदेश फर्कदै थिए । यसरी फर्किनेहरूमा अधिकांश कर्णाली प्रदेशकै थिए भने उत्तिकै संख्यामा कर्णालीको छिमेकी प्रदेश सुदूरपश्चिमका ।
परदेशबाट घरदेश फर्किने हुन् वा सहरबाट गाउँ जानेको ताँती बसपार्कदेखि सकडसम्म देख्न सकिन्थ्यो । यस्तो लाग्थ्यो दशंै नजिकै आएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मुखैमा आएर स्थगित भयो । विद्यालय र विश्वविद्यालयदेखि लोकसेवा आयोगसम्मका परीक्षा रोकिएन । मेरो पनि चैत्र १४ गतेदेखि एल.एल.बी. दोस्रो वर्षको परीक्षा थियो । २०७५ सालमा समाजशास्त्रमा स्नातकोत्तर सके पनि मैले शोधपत्रको काम भने सकेकी थिइन् । उता एल.एल.बी.को परीक्षा दिन प्रदेश नं. ५ को नेपालगन्ज जानुभन्दा अगाडि मलाई शोधपत्र ‐भाईभा) पनि सक्नुपर्ने थियो । त्यसैले अफिसबाट बिदाको तयारीमा थिएँ ।
एकातिर अफिसको काम, अर्कोतिर परीक्षाको तयारी अनि कोरोना भाइरसको कारण विश्वमा नै फैलिएको एक खालको त्रास मलाई मात्रै होइन मेरा सहपाठीहरूलाई पनि उत्तिकै थियो ।
गत चैत्र १० गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्दै थियो । अफिसबाट काम सकेर सहकर्मी मुना हमाल र म रातको ८ बजे घर फर्कियौं । घर पुगेको केहीबेरमै मोबाइलको घण्टी बज्यो । हेरेँ, सम्पादकको रहेछ । विगतमा सधैंै समाचारमा केही न केही कमी वा त्रुटि भएपछि सम्पादकको फोन आउँथ्यो । त्यसैले आज पनि त्यस्तै केही भएछ कि भनेर सशंकित भएँ । यद्यपि फोन उठाएँ ।
‘सीता जी, फेसबुकमा सूचना हेर्नुभयो ?’ विनोद सरले सोध्नुभयो ।
‘नाइँ त सर’ मेरो जवाफ यही थियो ।
सरले फेरि भन्नुभयो, ‘भोलिदेखि एकहप्ता (१८ गतेसम्म) अफिस आउनु परेन । घरबाटै केही समाचार सम्भव भए पठाउनुहोला । आफूलाई आवश्यक खाद्यान्नको जोहो गरीराख्नु, केही समस्या परेमा भन्नुहोला ।’
महिनौंदेखि कोरोना बारेको समाचार लेख्दा–लेख्दै मनमा एकखालको डर थियो । सरले त्यति भनेसी डर झन बढ्यो, अर्कोतिर खुशी पनि । सहकर्मीहरूको घरमा राशन भए–नभएको चिन्ता अफिसका हाकिमलाई पनि हुने रहेछ । त्यसो त हाम्रै सुरक्षाका लागि भनेर केही समय पत्रिका प्रकाशन स्थगित गर्ने र घरमै बस्ने निर्णय उहाँहरूले गर्नुभएको हो । चैत्र ११ गतेदेखि सरकारले लकडाउनको घोषणा गरिसकेको थयो ।
पत्रकारको जीवनशैली र दैनिक आम नागरिकजस्तो हुँदैन । बिहान उठेदेखि नै व्यस्त हुनुपर्ने । न आफ्नो निजी काम राम्रोसँग गर्न पाइने न त परिवारलाई समय दिन नै भ्याइने । धन्न आवश्यक परेको बेला जहिले पनि बिदा दिने कार्यालय छ र मैले त्यति समस्या झेल्नुपरेको छैन ।
बिहान एघार बजे भन्दा पहिले कहिल्यै अफिस हिँडिन तर बेलुकी भने आफैले काम ढिलो गरेको कारण राती नै आइन्छ । कतै ‘रिपोर्टिङ्ग जानु छ है’ भन्ने फोन आयो भने पस्केको भात पनि छोडेर हिँड्ने बानी भने मेरो पनि अरु पत्रकारहरू जस्तै हो ।
कत्ति पटक बिहानै रिपोर्टिङ्गमा जानुपर्दा नौ वर्षकी छोरीलाई ‘भात खाएर स्कुल जाऊ है नानु’ भन्दै हातमा बीस रूपैयाँ थमाएर पनि हिँडेकी छु । सधैं व्यस्त हुनुपर्ने, काम छ । दशैं र तिहारबाहेक कुनै सार्वजनिक बिदा र शनिवार पत्रकारको लागि होइन । धेरैले सोध्नुहुन्छ, ‘तपाइंको कस्तो अफिस हो ? बिदा पनि कहिल्यै हुँदैन । अनि रातीमा आउनुहुन्छ ।’
म भने मुुसुक्क हाँस्दै भन्छु, ‘तपार्इंहरू शनिवार र सार्वजनिक बिदामा समाचार पढ्नुहुन्न ?’ अनि उहाँहरूको जवाफ आउँछ, ‘पढ्छौं ।’ अनि म थप्छुु, ‘हो त्यही तपाईंले रेडियोमा सुन्ने समाचार, पत्रिकामा पढ्ने समाचार र टेलिभिजन र अनलाइनमा हेर्ने समाचार हामीजस्तै पत्रकारले तयार गरेको हुन्छ ।’ त्यति भनेपछि उहाँहरूलाई मुखभरीको जवाफ पुग्छ ।
यसरी सधैं व्यस्त हुने जीवन देशको लकडाउन र कार्यालयले पत्रिका प्रकाशन एकहप्ता रोकेपछि मलाई त हुन सम्म भयो । बिहान अबेर उठ्ने, खाजा बनाएर खाने अनि दिउँसो अबेर खाना पकाएर खाने । त्यसपछि सुत्ने ।
आहा ! दुईदिनसम्म त यति आनन्द लाग्यो कि खानेकुराको नयाँ–नयाँ परिकार पकायो कि फेसबुकमा पोस्ट्याईहाल्ने । तर जब लकडाउन लम्बिँदै गयो र नेपालमा पनि कोरोनाको संक्रमण देखिन थाल्यो । त्यसपछि लकडाउनले पिरोल्न थाल्यो । कोठामा एक्लै कति सुत्नु, फेसबुक कति चलाउनु ? धेरै चपाए चिनी पनि तितो हुन्छ भन्ने उखान यसै बनेको होइन । पछि त टाउको फुट्ला जस्तै हुने, के गरौं, कसो गरौं जस्तो मात्रै हुने । त्यो बीचमा अलि–अलि समाचार पनि लेखिन्थ्यो । तर सधैं फिल्डमै खटेर समाचार लेख्न बानी परेकी मलाई घरबाटै फोन गरेर समाचार लेख्नै मुस्किल । लकडाउनले घरमै बस्न त पाइयो, तर विनाकाम घरमै बसिरहनु पनि सास्ती हुँदो रहेछ, यही लकडाउनमा महसुस भयो ।
छोरीसँगै भए त दिन बिताउन पनि सजिलै हुन्थ्यो । सासुआमाले म नेपालगन्ज परीक्षाको लागि जाँदैछु भनेर छोरी पहिले नै गाउँ लगिसक्नु भएको थियो । उसको पनि दुईवटा परीक्षा हुन बाँकी थियो, परीक्षा स्थगित भयो, ऊ हजुरआमासँगै गाउँ हिँडी ।
एक्लै कोठामा बस्न नसकेपछि ससुरा बुवालाई छोरी ल्याइदिनु भनें । त्यो बेलासम्म एक जिल्लाबाट अर्को जिल्लामा यातायात ठप्प थिए । बुवाको पनि बाईक दुर्घटनामा हात भाँचिएको थियो । छिमेकीलाई भनेर नातिनी बाइकमा हालेर पठाइदिनु भयो । छोरी आएपछि पनि कोठामा छट्पटी भइरह्यो । भाडामा बस्ने अरु सबै गाउँतिर गइसकेका थिए, भुइँतलामा म मात्रै । एक्लै । दिन बिताउन एकदमै अप्ठ्यारो भएको थियो ।
यत्तिकैमा दाइले १९ गते परेको चैते दशैंमा आफ्नो घर बोलाउनु भयो । खुशी हुँदै वीरेन्द्रनगर ११ मा रहेको माइतीघरमा गएँ र १५ दिन त्यहीँ बसेँ । अझै लकडाउन खुलेन । यही मौकामा आमासँग पनि बस्नुप¥र्यो भन्दै वीरेन्द्रनगर–१५ तर्फ लागेँ, वैशाख ३ गते ।
दैनिक रूपमा बढेको कोरोना, गाउँघरमा पनि छुट्टैखालको त्रास । सधैं समाचार स्रोतहरूसँग समन्वय र सम्पर्क तथा कम्प्युटरमा झुण्डिने मान्छेलाई गाउँमा दिन बिताउन सजिलो त थिएन । तर आमासँग भने निकै रमाइलो । कहिलेकाहीँ समाचार पनि उतैबाट लेखेर पठाइन्थ्यो ।
गुराँस गाउँपालिका–४ सेरी दैलेखमा रहेको घरमा सासु–ससुरा बस्नुहुन्थ्यो । आमाले फोन गरेर ‘घर कहिले आउँछेस् ?’ भनेर प्रायः सोधिरहने । ‘कहिल्यै फुर्सद हुन्न, यसो लकडाउनको बेलामा घर आए पनि कति खुशी लाग्थ्यो’ सासु आमाले बारम्बार यसो भनिरहँदा घर जाने र लकडाउन अवधिभर बस्ने योजना बनाएँ ।
यत्तिकैमा जेठ १ देखि पत्रिका पुनः प्रकाशन गर्ने खबर सहकर्मी प्रकाशबाट पाएँ । तर निश्चित थिएन । पछि सम्पादकसँग बुझ्दा त्यसैअनुसार तयारी भइसकेको रहेछ ।
अब मलाई धर्मसंकट प¥र्यो । सासुआमालाई बचन दिइसकेकी थिएँ । ‘आमा जेठ महिनामा आउँछु अनि बारी जोतेर केराऊ रोप्नुपर्छ । म लकडाउन भरी घरमै बस्छु ।’
सधैंजसो बुढीमाऊ गाउँमा एक्लै बस्नुहुन्छ । वीरेन्द्रनगर–९ सुर्खेतमा रहेको घरमा जेठाजु, म माइली बुहारी भाडाको घरमा अनि देवर–देउरानी पनि घरमा बस्दैनन् । ससुराबुवा पनि जागिरको शिलशिलामा प्रायः बाहिरै बस्नुहुन्छ । मैले त्यति भनेसी सासुआमाले फोनमा खुशी हुँदै भन्नुभएको थियो, ‘कान्छाकान्छी पनि आएका छन् ।’ पछाडिबाट देउरानीले भनिन्, ‘दिज्यू हजुरले खाना बनाइदिए पुग्छ के काम गर्ने त हामी छँदै छौं नि ।’
यत्तिका दिन घर नगई बसियो, एक पटक त जानैपर्छ भनेर म वैशाख ३१ गते घर गएँ । घरमा छुट्टै रमाइलो । घरअगाडिको चैते काफल लटरम्मै फलेको रहेछ । ओखर र आरुबखडा पनि ।
म दैलेखको घरमा नगएको तीन वर्ष पुगेको थियो तर कोठामा सासुआमा भने बारम्बार भेट्न आइरहनुहुन्थ्यो । चाडपर्वमा वीरेन्द्रनगरकै घरमा जम्मा भइन्छ । म घर गएकोमा सबैभन्दा बढी खुशी मैले सासुआमालाई नै देखेँ । सायद घरमा सबै जम्मा भएको देखेर होला बुढीमाऊ साह्रै खुशी देखिनुहुन्थ्यो तर विदेशमा भएको माइलो छोराको भने बेला–बेलामा याद गरिरहने । ‘माइलो सञ्चै छ ? त्यो कोरोना भन्ने रोग त्यता छ कि छैन ? अनि माइलो ड्यूटी जान्छ कि जाँदैन ?’ यस्ता प्रश्न बारम्बार मलाई सोधिरहने ।
घरमा बारीको ढुङ्गा बोक्ने, काल्ना खन्ने लगायतका धेरै काम रहेछन् । गएको दिन दिनभरी सासु–ससुरा अनि भान्जा र देवरानीसँगै काम गरेँ । सासुआमाले तँ काम गर्न सक्दिनस् भने घर गएर सुत् पनि भन्नुहुन्थ्यो । तर बुढा भएका सासु–ससुरा बारीमा काम गर्दा म कसरी घरमा सुत्न सक्थें ? जतिसकेँ सँगसँगै काम गरिरहेँ ।
त्यतिबेलासम्म म वीरेन्द्रनगर फर्कनुपर्ने छ भनेर कसैलाई भनेकी थिइनँ् । काम गर्दैगर्दा छिमेकीको घरमा खशी काट्ने कुरा चल्यो । मलाई खशीको मासु असाध्यै मनपर्ने । बुवाले कति किलो ल्याउने हो माइली ? भनी सोध्नुभयो । अब भन्र्नैपर्ने भयो बुवा मेरो अफिस खुल्ने रे मत भोलि जानुपर्छ ।
सासुआमाको अनुहारको रङ्ग एकाएक फेरियो । भन्नुभयो, ‘छोरीजस्तै एकरात बसेर जाने भइँस् । काफल पनि पाकेको छैन । के खान्छेस् त ? अफिसमा भनेर एक हप्ता बस् त्यो बेलासम्म अलिअलि पाक्छ अनि खाएर जालास् ।’
अघिल्लै दिन आउनुपर्ने भए पनि कार्यालयमा भनेर एक दिन ढिला गरेकी थिएँ । सरले ‘एक गते नभ्याउने भए पनि दुई गते काम गर्नेगरी आउनुहोला है’ भन्नुभएको थियो । मैले सासुआमाको कुरामा हाँस्दै भनेँ, ‘म हजुरकी माइली छोरी त होनि ।’ तर जानुपर्छ आमा भनेंं । भोली गइहाल्ने भए मासु खान मन लागेको होला भन्दै सासुआमाले बुवालाई कुखुरा किन्न पठाउनु भयो । देउरानीले पुरी पकाउन थालिन् । मलाई भने खिन्न मन भएको थियो । के सोच्नुभएको होला ? लकडाउन भरी बुहारी बस्छे भन्ने आशा हुँदो हो । तर फर्कनुप¥र्यो । म फर्किएपछि पनि मोबाइलमा सासुआमाको मिसकल आइरहन्छ । म यताबाट फोन गर्छु । भन्नुहुन्छ, ‘घरअगाडिको काफल कस्तो पाकेको छ । तँँ खानै नपाएर गइँस् । सबै चरालाई हुनेभयो ।’
यताबाट छोरी गरीमाले काफल यतै पठाइदिनु न आमा भनिन् । हजुरआमासँग नातिनीको माग, पूरा नहुने कुरै भएन । त्यो पनि काफलको । नभन्दै झोलामा पोको पारेर ससुरा बुवासँग पठाइदिनु भएछ । फोन गरेर भन्नुहुन्छ, ‘पत्रकारलाई पनि कोरोना लागेको छ अरे । कतै बाहिर नजानु, हात धोइरहनु । अनि त्यो घस्ने पाइन्छ रे घस्नु ।’
गाउँमा बस्ने साक्षर कक्षा समेत नपाएकी मेरी सासु आमालाई कोरोनाबाट बच्ने उपाय राम्रोसँग थाहा छ । तर पढेलेखेका अनि नेतृत्व गर्नेहरूले किन लकडाउनको पालना नगरेका होलान् ? मेरो मनमा प्रश्न उठ्छ । मलाई काफलभन्दा पनि वृद्ध भएका सासु–ससुराको हामीप्रतिको माया देखेर गहभरी आँसु भयो । सायद सबैका सासु–सुसुरा र बुवा–आमालाई यस्तै भएको होला !
यस पटक वनमा पाकेका काफल धेरैले चाख्न पाएका छैनन् । कारण हो लकडाउन । लकडाउनकै कारण कैयौं नागरिक बाटोमै अलपत्र छन् भने कोही परदेशमा । तर अर्कोतर्फ खुशीको कुरा के छ भने धेरैको पुनर्मिलन पनि भएको छ, यही वहानामा ।
लकडाउनकै कारण पाएको फुर्सदले म घर जान पाएँ । बिहे गरेदेखि प्रायः घर नबस्ने कान्छी सासु–सुरासँगै बसेकी छ । सुसुरा बुवाले पनि यसपाली घर छोड्नु भएको छैन । यसैमा मेरी सासुआमा दङ्ग हुनुहुन्छ । र, यता हामी उहाँले गाउँबाट पठाइदिएको काफल खान पाएर दङ्ग छौं ।
प्रकाशित मितिः २४ जेष्ठ २०७७, शनिबार ०६:००
साझा बिसौनी ।