अनुभूति

सहश्री हराएको गाउँ

दिव्यराज खड्का

‘भारतबाट एकै दिन दुई हजार व्यक्ति कर्णालीमा प्रवेश’ ल्यापटपमा समाचार हेर्दै थिएँ । गेटबाहिर मोटरसाइकल रोकियो । अंकल आउनु भएको रहेछ ।
उहाँ वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखा हेर्नुहुन्छ, महामारीमा फ्रन्टलाइनमा खटिएको एउटा स्वास्थ्यकर्मी । ल्यापटप बन्द गरेर म आँगनमा जान्छु । स्मार्ट फोन र ल्यापटमा विश्वभरिबाट समाचार ओइरीरहेकै छ । आज थप कतिजना संक्रमित भए, कतिको मृत्यु भयो । महामारीलाई म इन्टरनेटबाटै पच्छाइरहेको छु । समाचार नबनेका समाचार साँझमा अंकलले सुनाउनु हुन्छ ।

‘इन्डियाबाट आएकामध्ये पाँच सय जना आज दैलेख हिँडे ।’ अंकल सुनाउनुहुन्छ ।

‘हाम्रा गाउँका केटाहरू कोही थिए कि ?’ बुवा सोध–खोज गर्नुहुन्छ ।

हाम्रो गाउँ अर्थात् दैलेख सदरमुकामबाट ६ किमी पश्चिमतर्फ पर्ने गमौडी । पूूरा नाम दुल्लू नगरपालिका वडा नं. १० गमौडी । अहिलेको संरचनाअनुसार हाम्रो नगर भन्नुपर्ने हो कि ? बा–आमाले युवावय गुजारेको र मैले बाल्यकालका सुरुवाती केही वर्ष बिताएको त्यो गाउँको नगरमा स्तरोन्नति केही अघि मात्र भएको हो । मोटरबाटो र बिजुलीबत्ती पुग्नुबाहेक नगर हुन अरु के–के चाहिन्छ ? नगर र गाउँ छुट्याउने मापदण्ड सरकारले कतै प्रकाशित गरेको हुनुपर्छ । मैले पढेको छैन ।

अँ, ती पाँच सयमा हाम्रो गाउँका कोही थिएनन् रे । मामाघरतिरका वा हाम्रा चिनजानका कोही आफन्तलाई पनि अंकलले देख्नु भएनछ । वा देखेर पनि चिन्नु भएन कि ? एक त वर्षौंपछि भेटेका आफन्त झन् त्यसमाथि महिना दिनभन्दा बढी समय खाने सुत्ने ठेगान नभएर बोर्डरमा बसेका आफन्त दुब्लाएर नचिनिने भएका हुन सक्छन् । त्यसो भए अझै नेपाल भारत सीमानामै अड्किएका हुनुपर्छ । वा दिल्ली बम्बईतिरै छन् कि ?

रोजगारीका लागि भारत जानु दैलेखलगायत पश्चिम पहाडका अधिकांश गाउँहरूको युगौं पुरानो नियति हो । मेरा बाजे उमेरमा दैलेखबाट हिँड्दै बर्दियाको राजापुर हुँदै भारी बोक्न भारत गएको र दुःख पाएका अनेकौ किस्सा आफू बाँचुञ्जेल सुनाइरहनुहुन्थ्यो । अहिले भारत जानेहरूको कथा पनि उबेला भन्दा खास फरक छैन । भारी बोक्ने, स्याउ टिप्ने, होटलमा जुठा भाँडा माझ्ने । अर्थात् ‘बहादुर’ बन्ने । कवि बिपि अस्तुले आफ्नो चर्चित कविता ‘नखस्नु’ मा भनेजस्तै नियतिको खुट्टामा झुण्डिएर बम्बई खस्ने, अनि क्रमशः रक्सीको गिलासमा, एड्समा, नालीमा र रेलको पटरीमा खस्ने । तीनै खसेकाहरू लकडाउनको सुरु भएको करिब दुई महिनापछि लाइन लागेर पहाड उक्लदैंछन् ।

अचेल काफल पाक्ने सिजन छ । सुर्खेतको उत्तरतिरका डाँडाका जंगलमा काफल लटरम्मै फलेका छन् भन्ने सुन्छु । लुकिछिपी बेच्न ल्याइराखेको पनि यदाकता देखिन्छ । लकडाउन नहुँदो हो त यतिबेला दैलेख र सुर्खेतबाट ल्याएर बजारैभरी काफल बिक्री भइराखेको हुँदो हो । गत साल एकजनाले यही सिजनमा करिब साठी हजारको त काफल मात्रै बेचेको सुनाएका थिए । बसमा कोच्चिएर घरतर्फ गइरहेकाहरूलाई बोटै राता बनाएर फलेका काफलले क्षणभरलाई मात्र भए पनि खुशी दिए होलान् कि नाइँ ?

हामी काफलको कुरा गरिरहँदा बुवा र अंकल बाल्यवस्थामा फर्किनुहुन्छ । बाख्रा चराउन जाँदा काफल, ऐंसेलु, खर्चे, तिमिलो, चुत्रो, बेडुला खाएको सम्झेर मुख मिठ्याउनुहुन्छ । जुम्ली व्यापारीलाई एक रूपैयाँको सय दानासम्म सुन्तला बेचेको कुरा हुन्छ । खोला किनारमा उम्रेका सुन्तलाका बेर्ना बारीमा रोपेर ठूला–ठूला रुख बनेको सुनिरहँदा म सम्झिरहेको थिएँ अहिले हाम्रो गाउँभरिमा सुन्तला मात्र होइन कागतीको एउटा बोटधरी छैन ।

बुवा, अंकलहरूले दिनभरी माछा मारेर बस्ने घरछेउको खोल्सामा पानी नआएको वर्षौं भइसक्यो । चुत्रा, बेडुल्लाजस्ता जंगली फल मात्र होइन घरछेउकै बनमा हुने च्याखुरा, माटीभ्याकुरा, रानीचरी, भिर्कोजस्ता चराचुरुङ्गी पनि देखिन छाडिसके । घर मास्थिरको पुसाकोटको डाँडै राताम्य हुने गरी फूूल्ने गुराँसका रुखका जरासम्म हराइसके । रोजगारी, शिक्षा र अरु अवसरको खोजीमा हाम्रोलगायत अरु धेरै परिवार गाउँ छोडेर गइसक्यो । नछोडेकाहरू वर्षको केही महिना खेतीपाती र बाँकी समय भारतमा मजुदरी गरेर गुजारा गरिरहेछन् ।

पहाडका आफ्नै किसिमका दुःख छन् । त्यसो त जतिसुकै दुख र अभाव भए पनि आफ्नो विगत सम्झेर नोस्टाल्जिक हुनु मानवीय स्वभाव नै हो । तर बुवाहरूको पालासम्म अलिअलि जग्गा जमिन हुनेलाई खेतीपातीबाट कम्तीमा खान–लाउन भने पुग्ने नै अवस्था थियो । अचेल खानेपानीका मुलमात्रै सुकेनन्, खोलाको पानी सुक्यो, सुन्तला र कागतीका बोट पनि सुके । अनिसँगै सुक्यो गाउँका आयआर्जनको बाटो । अनि धेरैजसोको लागि जाने ठाउँ उही भारत नै बन्यो । गाउँका बुढापाका अचेल गाउँमा सहश्री हरायो भन्छन्, अर्थात् गाउँबाट सहकाल हरायो, धन हरायो ।

महामारीले रोजीरोटी गुमेर भारतबाट फर्किरहेका हजारौं कर्णालीबासी गमौडीजस्तै यस्ता सहश्री हराएका रित्ता गाउँहरूमा फर्कंदैछन् । महामारीको प्रकोप तत्कालै थामिने लक्षण कतै देखिदैंन । थामिइहालेको खण्डमा यसले अर्थतन्त्रमा पु¥याउने जोखिम निश्चय नै भयावह हुनेछ । हाम्रो देशको सीमित उत्पादन क्षमतामा ह्रास आउने त छँदैछ, भारत लगायत खाडीमुलुक र मलेसियाबाट आउने रेमिट्यान्समा कमी आउने निश्चित छ । यसका प्रारम्भिक लक्षणहरू देखिन थालिसके । यस्तोमा भोकमरी हाम्रा लागि महामारीभन्दा पनि घातक हुनसक्छ । अझ यसको मार मुख्यगरी वर्षौंदेखि न्यून उत्पादकत्व भएका हाम्रा पहाडहरूमाथि पर्ने देखिन्छ ।

नेपाल युवाहरूको जनसंख्या धेरै भएको देश हो । भारतबाट आएका लाखौं बेरोजगार युवा अब केही समय यतै हुनेछन् । पहाडमा गरिबी र पछौटेपन जरुर छ । तर सँगसँगै प्रकृतिसँग हातेमलो गर्दै बाँच्ने अद्भूत कला पनि पहाडसँगै छ । खानेपानीको मुहान संरक्षण गर्न डाँडामा पोखरी निर्माण गर्नेदेखि, खोलाछेउमा निगालाघारी बनाउन सिकाउने हाम्रा पुर्खाको ज्ञान र सीपलाई समयानुकूल प्रयोग गर्नसके हाम्रा पहाडहरू फेरि बौरिनेछन् । हामीसँग अचेल तीन तहका सरकार छन्, वर्षौं जनतासँग भिजेका जनप्रतिनिधिले नै स्थानीय सरकारको नेतृत्व गरिरहेका छन् । यस्तो बेलामा रोजगारी भनेको बाटोछेउको घाँस उखेल्नु र विकास भनेको डोजरले ट्रयाक खोल्नुमा मात्र सीमित छैन भन्ने बुझेमा गाउँमा सहश्री फर्कन समय लाग्दैन ।

प्रकाशित मितिः   २४ जेष्ठ २०७७, शनिबार ०६:०१