सोती घटना : संसदीय विशेष छानविन समिति गठन हुने
काठमाडौं : रुकुमको चौरहजारीमा भएको ६ जना युवाको हत्याको विषयमा छानविन गर्न संसद्ले विशेष समिति बनाउने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रवारको प्रतिनिधिसभा बैठकमा विशेष समिति बनाउने बताएका हुन् ।
जेठ १० गते भएको रुकुम घटनामा ६ जना युवाहरूको हत्या भएको थियो । उक्त घटनामा दलित युवाहरूमाथि हमला गरिएको थियो । शुक्रवारको बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्षा भुषालले संसदीय समिति बनाएर छलफल गर्नुपर्ने माग गरेलगत्तै सभामुख सापकोटाले राजनीतिक दलहरूसँगको छलफलपछि समिति बनाउने बताएका हुन् । संसदीय समितिमा कसकसलाई राख्ने भन्ने राजनीतिक दलहरूसँग छलफलपछि टुङ्गो लगाउने सभामुख सापकोटाले बताए । प्रतिपक्षी कांग्रेसका सांसदहरूले उक्त घटनाको छानविन गर्नका लागि संसदीय छानविन समिति गठन गर्न माग गरेका थिए ।
जाजरकोटका युवा नवराज विक मल्ल थरकी केटीसँग विवाह गर्नका लागि पश्चिम रुकुम गएका थिए । रुकुम पश्चिम चौरहजारी नगरपालिका सोतीकी केटीको घर जाँदा केटीका परिवारले ‘तल्लो जात’को भन्दै गाली गरेपछि फर्केका युवामाथि गाउँलेले झण्डै तीन किलोमिटर पर आएर हमला गरेका थिए । ती युवाहरूलाई हत्या गरेर भेरी नदीमा फालिएको आरोप पीडित पक्षले लगाएका छन् । यो घटनामा मृत्यु हुनेमा नवराज विक, गणेश बुढामगर, टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विक रहेका छन् ।
उक्त घटनामा संलग्न वडाध्यक्ष डम्मरबहादुर मल्लसहित डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोष मल्ल, मोहन पुनमगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल र १७ वर्षीया एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको छ ।
घटनाको छानविन गर्नका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिप्रति आफ्नो विश्वास नरहेको भन्दै कांग्रेसले संसदीय छानविन समिति गठनको माग गर्दै आएको थियो । कांग्रेसकी सचेतक पुष्पा भुषालले शुक्रवार पनि सरकारी समितिमा संसद्ले विश्वास गर्न नसक्ने भन्दै संसदीय समिति गठनको माग गरेकी थिइन् । त्यसपछि सभामुख सापकोटाले संसदीय छानविन समिति गठनको घोषणा गरेका हुन् ।
प्रकाशित मितिः २३ जेष्ठ २०७७, शुक्रबार २०:००
साझा बिसौनी ।