कोरोना परीक्षणको दायरा बढाउन विधायन समितिको निर्देशन
सुर्खेतः कर्णाली प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउन प्रदेशको विधायन तथा प्रदेश मामिला समितिले प्रदेश संकट व्यवस्थापन केन्द्रलाई निर्देशन दिएको छ । दैलेखमा संक्रमितको संख्या बढ्दै गएको भन्दै क्वारेन्टाइनमा रहेका नागरिकको संख्याको आधारमा तत्काल परीक्षण बढाउन पीसीआर मेसिन जडान गर्ने र सम्भव भए अर्को प्रदेशमा समेत स्वाब लगेर परीक्षण बढाउन समितिले निर्देशन दिएको हो ।
शुक्रवार बसेको बैठकले कोरोना भाइरसको ‘रेड जोन’ बन्दै गरेको कर्णाली प्रदेशमा पूर्वतयारीका लागि संकट व्यवस्थापन समितिलाई आवश्यक निर्देशन दिने निर्णय गरेको विधायन समितिका सदस्य धर्मराज रेग्मीले जानकारी दिए । बैठकले प्रदेशभर कम्तीमा पनि दश वटा एम्बुलेन्स र आवश्यक शबवाहन खरिदको व्यवस्था गर्न र सोको लागि आवश्यक चालकहरुको व्यवस्था मिलाउन तथा स्वास्थ्यकर्मीहरुको संख्या थपि चेकजाँचको दायरा बढाउन निर्देशन दिएको हो ।
क्वारेन्टाइन,आइसोलेसनलगायत आवश्यक ठाउँमा प्रदेश र संघीय सरकारसँग समन्वय गरी नेपाल प्रहरी, सशस्त्र प्रहरीको तालिमे जनशक्ति समेतको परिचालनका लागि व्यवस्थापन गर्न समितिले सुझाएको छ । संक्रमितको संख्या र जोखिमको अवस्थाको आधारमा प्रभावित जिल्ला र पालिकाहरुमा स्वाब संकलन र परीक्षण बढाउनुपर्ने विधायन समितिले सुझाब दिएको छ ।
प्रकाशित मितिः २३ जेष्ठ २०७७, शुक्रबार १६:३६
साझा बिसौनी ।