जाजरकोट र हुम्लामा पनि भेटिए कोरोना संक्रमित

सुर्खेत :  यसअघि कर्णाली प्रदेशका ६ वटा जिल्लामा देखिएको कोरोना भाइरस(कोभिड-१९) को संक्रमण थप दुई जिल्लामा पनि पुगेको छ । शुक्रवार जाजरकोट र हुम्लाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेतले गरेको पीसीआर परीक्षणमा जाजरकोटको भेरी नगरपालिका-१० का १९ वर्षीय पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा हुम्लाको चङ्खेली गाउँपालिका-३ का ५८ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

शुक्रबारसम्म प्रदेशमा ४ सय ८९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

सुर्खेत, दैलेख, सल्यान, कालिकोट, जुम्ला र मुगुमा यसअघि नै संक्रमण देखिसकेको थियो । प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिम र डोल्पामा मात्र संक्रमण देखिएको छैन ।

प्रकाशित मितिः   २३ जेष्ठ २०७७, शुक्रबार १६:०३