कर्णालीमा कोरोनाबाट दुई जनाको मृत्यु

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना(कोभिड-१९)बाट २ जनाको मृत्यु भएको छ । बिहीवार सुर्खेतको पञ्चपुरी नगरपालिका-१ का २० वर्षीय युवाको मृत्यु भएसँगै प्रदेशमा मृतकको संख्या २ पुगेको हो ।

क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका ती युवामा कोरोना पुष्टि भएको छ । पञ्चपुरी –१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करिब २ बजे मृत्यु भएको थियो ।

मृत्यु भएपछि गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको प्रदेश स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

जेठ पहिलो साता भारतको मुम्बईबाट आएका युवा दुई सातासम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्केका थिए । बुधबार दिउँसो गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । तर, राति घर पुगेका उनी घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा बसेका थिए ।

यसअघि गत शनिबार दैलेखको दुल्लुमा क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवाको मृत्यु भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा र पाल्पामा एक/एक जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मितिः   २३ जेष्ठ २०७७, शुक्रबार १४:१२