स्थानीय तहको चरम लापरबाही

परीक्षण रिपोर्ट नआउँदै घर पठाइँदै

क्वारेन्टाइनबाट घर पुगेका तीन जनामा संक्रमण
  वीरेन्द्रनगरको जन माविस्थित क्यारेन्टाइनमा रहेका व्यक्तिहरुसँग नगरपालिकाका प्रतिनिधिहरु

विद्यालयको बेञ्चमा सुताइएका हुन् या आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि भैंसी गोठमा राखिएका नागरिक । यीनै दृष्य यतिबेला सञ्चारमाध्यममा समाचार बनेर मात्र आइरहेका छैनन्, सामाजिक सञ्जालमा पनि उत्तिकै छाइरहेका छन् । कर्णाली प्रदेशका स्थानीय तहले बनाएका क्वारेन्टाइनभित्रका यस्तै बिजोगको चौतर्फी आलोचना भइरहँदा त्यसभन्दा पनि चरम लापरबाही हुने गरेको तथ्य फेला परेको छ । प्रदेश राजधानीको वीरेन्द्रनगर नगरपालिकाले नै भारतबाट आएका नागरिकलाई कोरोना परीक्षणपश्चात रिपोर्ट नआउँदै घर पठाएको पाइएको हो ।

यो चरम लापरबाही किन पनि हो भने यसरी घर पठाइएकाहरूमा नै कोरोना संक्रमण देखिएको छ । पालिकाले क्वारेन्टाइन अवधि पूरा नहुँदै पठाएका ११ जनामध्ये तीन जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरू घर गएको दुई दिनपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइन बसेकाहरूलाई यसरी रिपोर्ट नआउँदै पठाइदा संक्रमण समुदायमा फैलने जोखिम बढेको छ । भारतबाट फर्किएकाहरूमा नै धमाधम संक्रमण पुष्टि भइरहेको बेला नगरपालिकाले भने रिपोर्ट आउने दुई दिन नकुरेरै संक्रमितलाई घर पठाएको हो ।
वीरेन्द्रनगर–९ अलायाचौर शिवटोलका २६ वर्षीय, धरमपुरटोलका ४० वर्षीय र अर्का १४ वर्षीय पुरुषमा मंगलवार कोरोना पुष्टि भएको थियो । कोरोना पोजेटिभ देखिएपछि बुधवार बिहान उनीहरूलाई प्रदेश अस्पताल तथा वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले घरमै पुगेर ल्याएको हो ।

गत जेठ ६ गते सुनौली नाका हुँदै भारतबाट सुर्खेत आइपुगेका उनीहरू वीरेन्द्रननगरस्थित जन नमूना माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । जेठ १५ गते उनीहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेपछि १८ गते रिपोर्ट नआउँदै घर पठाइएको थियो । घर गएर समुदायमा घुलमिल भइसकेका उनीहरूको रिपोर्ट पोजेटिभ आएपछि गाउँले समेत त्रसित बनेका छन् ।

कम्तीमा पनि १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भए पनि उनीहरूलाई १२ दिनमै घर पठाइएको थियो, त्यो पनि परीक्षण गरिएको रिपोर्ट नआउँदै । वीरेन्द्रनगर–९ का बखत शाहीले रिपोर्ट नआउँदै घर पठाइँदा छर–छिमेकमा संक्रमणको त्रास देखिएको बताए । ‘यस्तो लापरबाहीले समुदायस्तरमा संक्रमण फैलिए जिम्मेवारी कसले लिन्छ ?,’ उनले भने, ‘आज क्वारेन्टाइन व्यवस्थित गर्न नसक्नेहरूले भोलि महामारी नियन्त्रण गर्न सक्दैनन् । यो चरम लापरबाही हो ।’

संक्रमण देखिएकाहरूले आफूले रिपोर्ट नआउँदासम्म घर नजाने भने पनि नगरपालिकाले पठाइदिएको बताएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले भने क्वारेन्टाइन अवधि पूरा भएपछि मात्रै उनीहरूलाई घर पठाएको दाबी गरेको छ । ‘वडा अध्यक्षको समन्वयमा होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाएका हौं,’ स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रदेव गिरीले भने, ‘उक्त समयमा पीसीआर जाँच गर्ने मेशिन समेत बिग्रिएकाले रिपोर्ट ढिला आएको हो ।’


क्वारेन्टाइनबाट घर गएका युवककोे मृत्यु

यसैबीच क्वारेन्टाइनमा बसेर घर फर्किएका एक जना युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा–१ हाँसे गाउँका २० वर्षीय युवाको बिहीवार बिहान मृत्यु भएको हो । उनी जेठ ७ गते भारतबाट फर्किएर जनता माध्यमिक विद्यालय विद्यापुरको क्वारेन्टाइनमा बसेका थिए । बुधवार आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीसँगै पाँच जना घर गएका थिए ।

पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाका अनुसार बुधवार दिउँसो तीन बजे उनीहरू क्वारेन्टाइनबाट घर हिँडेका हुन् । घर गइसकेपछि परिवारबाट टाढा रहेर एक हप्ता होम क्वारेन्टाइनमा सुरक्षित भएर बस्न भनिएको थियो । घर नजिकै मौरीपालनका लागि निर्माण गरिएको सामुदायिक भवनमा मृतकसहित पाँच जना बसेका थिए ।

वडा नं. १ का अध्यक्ष धनबहादुर थापाले बिहान २ बजे वडा अध्यक्षलाई बिरामी भएको खबर आएको र त्यहाँ पुग्दा मृत्यु भइसकेको थियो । खाना खाएर सुतेपछि एक्कासी घाँटी बुझिएजस्तो भएर १५ मिनेटमै मृत्यु भएकोसँगै भएका साथीहरूले जानकारी गराएको नगर प्रमुख थापाले बताए । मृतकको स्वाव संकलन गरेर परीक्षणका लागि पठाइएको भन्दै पीसीआर रिपोर्ट आएपछि मात्रै मृत्युुको कारण खुल्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   २३ जेष्ठ २०७७, शुक्रबार ०६:४०