शाहीले फिर्ता गरे गाडी

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन् । उनले दलका नेताको हैसियतले पाएको गाडी सुविधा सरकारलाई फिर्ता गरेका हुन् । बिहीवार प्रदेशसभामा उनले आफूले प्रयोेग गर्दै आएको गाडी फिर्ता गरेको घोषणा गरेका थिए । शाहीले बिहीवार नै संसद् सचिवालयलाई गाडी बुझाएर हिँडेरै कोठा पुगेको बताए ।

गरिब प्रदेशका मन्त्री, सांसदहरूले महङ्गा गाडी चढेको भनेर चौतर्फी आलोचना हुने र मुख्यमन्त्री, मन्त्री, सबैले गरीब प्रदेश भन्ने गरेपछि आफूले सुविधावापत पाएको गाडी फिर्ता गरेको शाहीको भनाइ छ । ‘गरीब प्रदेशका मन्त्री सांसदले महङ्गा गाडी चढ्ने भनेर आलोचना हुन थाल्यो । हामी आफैले गरीब प्रदेश भनिरहने महङ्गा गाडी पनि चढिरहने स्वभाविक लागेन,’ उनले भने ‘त्यसैले मैले पाएको सुविधा फिर्ता गरेको हुँ ।’ मापदण्ड र कानुन मिचेर महङ्गा गाडी किन्ने र प्रदेश गरीब हो भन्दै हिँड्नु गलत भएको उनले बताए ।

शाहीले हाम्रो प्रदेश गरीब नभइ मानसिकता नै गरिब भएको बताएका छन् । सभामुखका लागि दुई करोडको गाडी किनेको र नागरिक गोठको क्वारेन्टाइनमा बसेका समाचारहरूको सन्दर्भमा प्रदेशसभामा बोल्दै उनले मापदण्डविपरित खरिद गरिएको भए सत्यतथ्य खोज्न सार्वजनिक लेखा समितिलाई अनुरोध गरे ।

प्रकाशित मितिः   २३ जेष्ठ २०७७, शुक्रबार ०६:३५