लकडाउनको विकल्प

देश लकडाउनमा छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको करिब तीन महिना पुग्न थाल्यो । यो अवधिमा मुलुक पूर्णतः ठप्पजस्तै छ । व्यापार–व्यवसाय बन्द छ । पठन–पाठन स्थगित गरिएको छ । जनजीवन प्रभावित छ । मुलुककै अर्थतन्त्र प्रभावित बनेको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित बनाएको क्षेत्र नै अर्थतन्त्र हो । यसको क्षति तत्कालीन मात्र नभएर दीर्घकालीन हुन्छ । जसको पूर्ति गर्न सजिलो छैन । निक्कै समय लाग्नेछ ।

गत चैत ११ गतेदेखि लकडाउन गरिए पनि नेपालमा कोरोना संक्रमितको संख्या भने पछिल्लो समयमा तीव्र भइरहेको छ । १० जनाले कोरोनाकै कारण ज्यान गुमाए । संक्रमितको संख्या दुई हजार नाघिसकेको छ । एकातर्फ संक्रमणले निम्त्याउने क्षति त छँदैछ अर्कोतर्फ अर्थतन्त्रलगायत विकास–निर्माणमा पारेको क्षति पनि उत्तिकै ठूलो छ । जसले गर्दा पछिल्ला दिनहरूमा लकडाउनको विकल्प खोज्नुपर्ने कुरा चर्को रूपमा उठिरहेको छ । लकडाउन विशेषतः महामारीसँग जुध्नका लागि आवश्यक पूर्वतयारी हो । तर यही नै अन्तिम उपाय भने होइन । त्यसैले यसलाई सहज बनाउँदै थप सतर्कता अपाउन नसकिने पनि होइन ।

सरकारले जेठ ३२ गतेसम्म लकडाउनलाई कायमै राखेको छ । त्यसपछि के गर्ने भन्ने एकिन भनेको छैन । यद्यपि लकडाउनलाई खुकुलो बनाउनुपर्ने मत र दबाव भने बढ्दै गएको छ । विशेष गरेर व्यवसायीहरू लकडाउन खुकुलो बनाउनुपर्नेमा जोड दिइरहेका छन् । लामो समयदेखि उद्योगधन्दा बन्द हुँदा ठूलो क्षति भएको र त्यसलाई सम्बोधन गर्नेगरी सरकारले पनि कुनै कदम नचालेको भन्दै निजी क्षेत्र आक्रोशित बनेको छ । कतिसम्म भने कतिपय स्थानहरूमा व्यापारीहरूले स्वतस्फूर्त लकडाउन अवज्ञा गरेर पसल खोल्न समेत थालेको छन् । यसले सरकारलाई थप दबाव परेको छ ।

दबाव बढेपछि सरकार पनि लकडाउन खुकुलो बनाउनेतर्फ लचक भएको छ । सरकारले गठन गरेको उच्चस्तरीय विपद् व्यवस्थापन केन्द्रले असार १ गतेपछि लकडाउन खोल्ने विस्तृत स्वरूप तयार पारेको छ । विस्तृत कार्ययोजनामा संक्रमणको अहिलेको अवस्था हेर्दा ७० दिनपछाडि मात्रै जनजीवन सहज बनाउन सकिने प्रक्षेपण गरिएको छ । दुई–दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउन विस्तृत खाका तयार पारिएको छ । लकडाउनले मात्रै कोरोना नियन्त्रण गर्न सकिदैन भन्ने पुष्टि भइसकेको छ । बरु लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै अघि बढ्न सकिन्छ । सुरक्षात्मक उपायहरू अपनाएर सामाजिक दूरी कायम गर्दै विशेष गरेर कृषि क्षेत्रलाई सहज बनाउनेतर्फ सोच्न जरुरी भइसकेको छ । त्यस्तै दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्ने केन्द्रहरू, किराना पसल, खाद्य भण्डारण केन्द्र, पानी–ग्यास डिपोहरू पनि आंशिक रूपमा सञ्चालनमा ल्याउन सकिन्छ । तर यस्ता क्षेत्रहरू खुल्ने समय तालिका बनाउन सकिन्छ अहिलेको भन्दा बढी स्वास्थ्य सतर्कता अपनाउन हेलचक्र्याइँ गर्नु हुँदैन ।