कोरोना रिपोर्ट : कोही कसरी विश्वस्त होस् !

सुर्खेतको पञ्चपुरी नगरपालिकाका एक युवा, जो विद्यार्थी नेता हुन् । उनी सामाजिक अभियानहरूमा पनि उत्तिकै सक्रिय छन् । कोरोना संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउन लगत्तै उनी समस्यामा परेका विद्यार्थीका लागि राहत संकलन र वितरणमा पनि जुटे । यी गतिविधिमा संलग्न भइरहँदा उनले अरुलाई समेत स्वास्थ्य सतर्कता अपनाउन सजग गराउँथे ।

स्नातकोत्तर पढिरहेका उनलाई कोरोना भाइरस संक्रमणबाट कसरी जोगिने भन्नेबारे राम्रै जानकारी पनि थियो । त्यसैले यो अवधिमा उस्तो जोखिम भएका ठाउँ र व्यक्तिको सम्पर्कमा गएका पनि थिएनन् । तर, शंकाले होइन बाध्यताले गरेको पीसीआर परीक्षण रिपोर्टले उनलाई कोरोना संक्रमण भएको देखाइदियो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस काठमाडौंमा स्नातकोत्तर तहमा अध्ययनरत उनी पठनपाठन बन्द भएपछि सुर्खेत फर्किएका थिए । लकडाउनका सुरुवाती केही दिन वीरेन्द्रनगरमा रहेका विद्यार्थीहरूलाई सर–सहयोग गरे । त्यसपछि उनी पश्चिम सुर्खेत गए । जहाँ उनको घर हो ।

वैशाखको अन्तिमतिर मात्रै उनी वीरेन्द्रनगर फर्किए । विश्वविद्यालयले अनलाइन पढाइ सुरु गरेपछि उनी घरबाट वीरेन्द्रनगर आएका थिए । तर, यहाँ बसेरै ‘क्लास’ लिन सम्भव नदेखिएपछि उनले काठमाडौं नै जाने निधो गरे । लकडाउन छ जाने पो कसरी ? फेरि पीसीआर परीक्षण नगरेर काठमाडौं उपत्यका छिर्न पाइँदैन । काठमाडौ जानकै लागि भए पनि कोरोना परीक्षण गर्नुपर्ने भयो । उनले त्यसै गरे ।

परीक्षण गर्न सहज भने थिएन । पैसा तिर्दैमा जहाँ पायो त्यही कोरोना परीक्षण गर्न पनि पाइँदैन । यसकै लागि दुई तीन दिन दौडधुप चल्यो । स्वास्थ्य राज्यमन्त्री नवराज रावत उनकै गाउँका हुन् । उनले रावतलाई आफ्नो समस्या राखे । राज्यमन्त्रीकै सहयोगमा उनले वीरेन्द्रनगरमा पीसीआर परीक्षण गराए ।

काठमाडौ उपत्यका छिर्न चाहिएको कोरोना नेगेटिभ रिपोर्टका लागि स्वाब दिएका उनले काठमाडौं हिँड्न झोला कसिसकेका थिए । किनकी कोरोना रिपोर्ट पोजेटिभ आउने कल्पना समेत थिएन । होस् पनि कसरी ? न कुनै शंका थियो, न त कुनै लक्षण नै । उनलाई मात्रै काठमाडौं जान हतारो थियो ।

एक जना स्वास्थ्यकर्मीले उनलाई भनेका थिए, ‘जानुस् रिपोर्ट मेलमा पठाइदिउँला ।’ तै पनि उनले बाटोमा अप्ठेरो होला भनेर रिपोर्ट साथमै लिएर जाने विचार गरे । १९ गते दिउँसो रिपोर्ट आए–नआएको बुझे । जब कोरोना पोजेटिभ देखिएको खबर पाए, उनलाई पत्याउनै मुस्किल भइदियो । नपत्याउनु पनि कसरी, विज्ञानकै विद्यार्थी उनलाई चिकित्सा विज्ञानको रिपोर्ट पत्याउन करै लाग्यो ।

काठमाडौं हिँड्ने तरखर गरेका उनी वीरेन्द्रनगरको कालागाउँस्थिति प्रदेश अस्पतालमा पुगे । जहाँ कोरोना संक्रमितका लागि उपचार हुन्छ । अहिले अस्पतालको आइसोलेसनमा बसिरहेका उनले बुधवार साझा बिसौनीसँगको टेलिफोन कुराकानीमा भने, ‘मलाई अहिलेसम्म विश्वास लागेकै छैन । यस्तो कसरी भयो । न म कुनै जोखिम हुने ठाउँ गएको थिएँ, न त त्यस्ता व्यक्तिलाई भेटेको छु । खै के हो अचम्ममा परेको छु ।’ उनले थपे, ‘फेरि मलाई कोरोनाको कुनै लक्षण पनि त देखिएको छैन । म स्वस्थ छु । बेलाबेला ज्वरो नाप्छु ९६ मात्रै देखाउँछ ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा कर्णालीमा कोरोना संक्रमितको संख्या पनि अपडेट गरिरहेका हुन्थे । ‘थप ७५ जनामा संक्रमण, प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय ९८ पुग्यो,’ ती युवाले जुन १ अर्थात् गएको सोमबार बिहान ११ बजे मात्रै पोष्ट गरेको फेसबुक स्टाटस् हो, यो । फेसबुक स्टाट्सहरूमा कोरोनाबाट बच्न सजकता अपनाउन पनि सबैलाई अनुरोध गर्ने उनैलाई १९ गते दिउँसो कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकामध्ये १५ जनाको पनि स्वाव परीक्षण गरियो । तर, रिपोर्ट भने नेगेटिभ आयो । अर्थात् उनीहरूमा कोरोना देखिएन । संक्रमित उनले बुधवार मात्रै फेसबुकमा लेखेका छन्– ‘मेरो सम्पर्कमा आएका, मलाई बाइकमा चढाएका र म बसेको घरका सम्पूर्ण सदस्यसहित १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उहाँहरूसँगै बसेर खाएको छु । एउटै बेड प्रयोग गरेका छौं । अब भन्नुस्, मलाई मात्रै कोरोना भयो भनेर म कसरी विश्वास गरुँ ?’

उनलाई अहिले पनि कोरोना भएकोमा पटक्कै विश्वास लागेको छैन । ‘फेरि पीसीआर परीक्षणका लागि अनुरोध गरेको छु । हेरौं के हुन्छ,’ उनी भन्छन्, ‘मलाई यहाँ ‐अस्पतालमा) भारतबाट आएकाहरूसँगै राखिएको छ । बरु अब पो जोखिम फिल गरिरहेको छु ।’ यदि आफूलाई साँच्चिकै कोरोना संक्रमण भएको भए समुदायका अधिकांशमा कोरोना भएको हुनसक्ने उनको आँकलन छ । यसरी कोरोना फैलिएको हो भने सरकारले समुदायस्तरमा परीक्षण गर्नुपर्ने सुझाव समेत उनी दिन्छन् ।

कर्णालीमा बुधवारसम्म दुई सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये अधिकांश भारतबाट आएर क्वारेन्टाइन बसिरहेका हुन् । उनीसहित जुम्लाका अन्य दुई जनामा पनि संक्रमण देखिएपछि कर्णालीमा पनि संक्रमण समुदायस्तरमा पुगेको हो । चिकित्सक र स्वयम् संक्रमितहरूका अनुसार उनीहरूमध्ये हालसम्म कसैलाई पनि कोरोनाको लक्षण भने देखिएको छैन । अन्य ६ वटा प्रदेशमा संक्रमण फैलिसक्दा जोगिएको कर्णालीमा गत जेठ ५ गते भारतबाट आएका दैलेख आठबीसका एक जना पुरुषमा पहिलो संक्रमण देखिएको थियो । जो स्वस्थ छन् । तीन साता पुग्नै लाग्दासमेत उनमा कुनै लक्षण देखिएको छैन ।

प्रदेशमा कोरोना संक्रमण देखिएका एक जनाको मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । उनको दैलेखको दुल्लूस्थित क्वारेन्टाइनमा बसिरहेको अवस्थामा विना लक्षण एक्कासी मृत्यु भएको हो । मृत्युपछि मात्रै उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७७, बिहीबार ०६:३३