स्वाबको चाङ, परीक्षण सुस्त

कर्णालीमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिंदै गएका बेला परीक्षणको गति भने सुस्त छ । प्रदेशमा बुधवारसम्म दुई हजार एक सय ७४ स्वाब परीक्षण गर्न बाँकी छन् । परीक्षणका लागि प्रदेश अस्पतालमा संकलन गरिएका एक हजार दुई सय र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संकलन भएका नौ सय ७४ जनाको स्वाब परीक्षण हुन नसकेको हो । भारतबाट भित्रिएका नागरिकहरूको पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाब परीक्षणमा ढिलाइ हुँदा चाङ लागेको छ।

प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा सुर्खेत, सल्यान, दैलेख लगायतका जिल्लाबाट संकलन गरी ल्याइएका थुप्रै स्वाब जाँच गर्न बाँकी रहेको प्रयोगशालाका इन्चार्ज ओम आचार्यले बताए । उनका अनुसार हालसम्म तीन हजार चार सय बढी स्वाब संकलन गरी जाँच गरिए पनि अझै एक हजार दुई सय भन्दा बढी स्वाब पीसीआर परीक्षणका लागि स्टक छन् । उनले एकदिनमा दुई सय भन्दा बढी स्वाब परीक्षण गर्न नसकिएको बताए ।

भारतबाहेक नेपालका विभिन्न क्षेत्रबाट आएकाहरूको भने समूहमा परीक्षण गर्ने गरिएको छ । भारतबाट आएकाहरूको लागि सिंगल परीक्षण गर्नुपर्ने भएकोले पनि केही ढिला हुने गरेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक रीता भण्डारीले बताइन् । प्रयोगशालाबाट अबको दुई–तीन दिनमा सबै स्वाब परीक्षण गरी रिपोर्ट आइसक्ने जानकारी पाएको उनले बताइन् । ‘केही समय नयाँ किटले समेत म्याच नखाँदा ढिला भएको हो,’ उनले भनिन् ‘जति संकलन भएको स्वाब परीक्षण भएको छ त्योभन्दा बढी जिल्लाहरूबाट आउने क्रम समेत बढेको छ ।’

प्रदेशको सामाजिक विकास मन्त्रालयले पीसीआर परीक्षण मेसिन खरिद गर्ने भनेपनि हालसम्म नल्याएका कारण परीक्षणमा ढिलाइ भएको र प्रयोगशालामा रहेका मेशिनलाई जाँच गर्न हम्मे –हम्मे परेको उनको भनाइ छ ।

कर्णाली प्रदेशमा भारतबाट आउनेहरूको संख्या झन्डै ३५ हजार नाघ्न थालेकोले परीक्षणको दायरा बढाउनुपर्ने चिकित्सकहरूले औल्याएका छन् । त्यसका लागि पीसीआर मेसिन थप्नुपर्ने उनीहरूको भनाइ छ ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेठ १६ गते देखि बुधवारसम्म संकलन गरिएका नौ सय ७४ जनाको स्वाब परीक्षण हुन सकेको छैन । दैलेख, कालीकोट र जुम्लाका विभिन्न क्वारेन्टाइनबाट संकलन भएका स्वाबको चाङ लागेको हो । यहाँबाट हालसम्म चार हजार नौ सय ६४ जनाको पीसीआर परीक्षण भएको छ । जसमा एक सय सात जनाको रिर्पोट पोजेटिभ आएको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार अहिले सरदर दिनमा एक सय जनाको स्वाब परीक्षण भइरहेको छ ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७७, बिहीबार ०६:३२