बोर्डिङ्गमा पुरानै शुल्क

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ वैशाख ।
जिल्लामा बोर्डिङ्ग (संस्थागत विद्यालय) हरूमा गत वर्षकै शुल्क कायम हुने भएको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतले गतवर्ष निर्धारण गरिएको शुल्क कार्यान्वयन गर्न निर्देशन दिएको छ । 
चालु शैक्षिक सत्र २०७३ का लागि जिल्लाका कुनै पनि संस्थागत विद्यालयले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका बमोजिम प्रक्रिया पूरा गरी तोकिएको समयभित्र जिल्ला शिक्षामा प्रस्ताव पेश नगरेकाले कार्यालयले गत वर्षकै शुल्क कार्यान्वयन गर्न निर्देशन दिएको हो । यस वर्ष कुनै पनि शुल्क वृद्धि नगर्न निर्देशन दिइएको छ । 
कुनै पनि शुल्क पुनरावलोकन तथा थपघट गर्नुपरेमा संस्थागत विद्यालय शुल्क निर्धारण सम्बन्धी निर्देशिका अनुसार प्रक्रिया पूरा गरी शुल्क लिन सकिने जनाइएको छ । यसका लागि निर्देशिका अनुसार विद्यालयले पेश गरेको शुल्क प्रस्तावलाई कूल अभिभावक संख्याको दुई तिहाई बहुमतबाट  अनुमोदन गराइ जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिनुपर्नेछ । अनुमति लिएर ‘क’ र ‘ख’ श्रेणीमा वर्गीकृत विद्यालयहरूले तोकिएको अधिकतम सीमा शुल्कमा ५० र २५ प्रतिशत थप शुल्क लिनसक्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 
यसैगरी कुनै पनि विद्यालयले विद्यालय पोशाक, टाइ, बेल्ट, जुत्ता, स्टेशनरी तथा पाठ्यपुस्तक विद्यालयबाट बिक्री वितरण नगर्न समेत जिल्ला शिक्षाले निर्देशन दिएको छ । तोकिएको शुल्कभन्दा बढी शुल्क लिएमा कानुन बमोजिम कारबाही गरिने समेत कार्यालयले जनाएको छ । 
प्रकाशित मितिः   ९ बैशाख २०७३, बिहीबार ०३:५९