मानव बेचबिखन बढ्दोः तस्करको निशानामा आफन्त
साझा बिसौनी संवाददाता
सुर्खेत, ८ वैशाख ।
पूर्वी सुर्खेतको बोटेचौरमा गत असारमा एक किशोरी एकाएक घरबाट हराइन् । परिवारका सदस्यहरूले सबै उपाय लगाएर उनको खोजी गरे । तर, उनी कतै पनि फेला परिनन् । नेपालमा मात्र होइन, उनको खोजी गर्न परिवारका सदस्यहरू भारतमा समेत पुगे । तर, घरबाट हराएको नौ महिना बित्यो, उनलाई परिवारले हालसम्म भेट्न सकेको छैन ।
ती किशोरीलाई आफ्नै मामाको छोरीले जागिर मिलाइदिने भन्दै भारतको दिल्ली पु¥याएर बेचेको रहस्य खुलेको छ । परिवारमा आर्थिक अवस्था कमजोर भएको र आफ्नै मामाको छोरीले जागिर मिलाइदिने भनेपछि पैसा कमाउने आशमा दिदीसँगै भारत छिरेकी उनी कहाँ छिन्, परिवारलाई अहिलेसम्म कुनै पत्तो छैन । अनेक उपाय लगाउँदा समेत नौ महिनासम्म फेला नपरेपछि बहिनीको खोजी गरिदिन भन्दै उनकी दिदी सीमा विक अहिले वीरेन्द्रनगरमा धाउन थालेकी छन् । सीमाले आफ्नै मामाको छोरीले बहिनीलाई भारतमा लगेर बेचेको भन्दै उद्धारका लागि हारगुहार नै गरेकी छन् । उनले जिल्लामा रहेका मानव बेचबिखनविरुद्ध काम गर्ने विभिन्न संघ–संस्थामा बहिनीको खोजीका लागि भन्दै निवेदन दिएकी छन् ।
मानव तस्करहरूले विभिन्न प्रलोभन देखाएर आफन्तलाई नै बेचबिखन गर्ने गरेको यो एउटा प्रतिनिधिमूलक घटना मात्र हो । पछिल्लो समय जिल्लामा आफ्नै नातापर्ने र परिवार भित्रका सदस्यहरूलाई नै विभिन्न प्रलोभन देखाउँदै बिक्री गर्ने क्रम बढ्दै गएको छ । तस्करहरूले भारतका विभिन्न सहरमा पु¥याउँदै आफन्तलाई नै बेचबिखन गर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा चालु आर्थिक वर्षमा दुई दर्जन भन्दा बढी मानिस हराएको भन्दै उनीहरूको खोजीका लागि आफन्तहरूले उजुरी दर्ता गराएका छन् । प्रहरीका अनुसार महिला र बालबालिका हराएका उजुरी नै बढी छन् । सुर्खेतका प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठ भन्छन्, ‘तस्करहरूले आफ्नै नातेदार र आफन्तलाई नै जालमा पार्न थालेका छन्, जागिर लगाइदिने र काम खोजीदिने भन्दै आफन्तहरू नै भारतमा ओसार्ने गिरोह सक्रिय छ ।’ आफन्तले छिटो विश्वास मान्ने र फकाउन पनि सजिलो हुने भएकाले पनि तस्करहरूले पछिल्लो समय आफन्तलाई नै प्रलोभनमा पारेर बेच्ने गरेको तथ्य फेला परेको प्रहरीको भनाइ छ । एसपी श्रेष्ठका अनुसार पछिल्लो समय मानव तस्करहरूले जिल्लाका मैनतडा, छिन्चु, मेहेलकुना, रामघाट, राकम, तातापानी र बावियाचौरबाट मानिसहरूलाई भारतका विभिन्न सहर र तेस्रो मुलुकसम्म लगेर बिक्री गरेको भेटिएको छ ।
महिला तथा बालबालिका कार्यालयका प्रमुख जमूना पौडेल आर्थिक अभावका कारण महिला तथा बालबालिकाहरू बढी बेचबिखनको जोखिममा परेको बताउँछिन् । तस्करहरूको निशानामा दलित समुदायका महिला तथा बालबालिकाहरू बढी परेको भन्दै उनले आर्थिक र रोजगारीको प्रलोभनमा मानवहरू बेचबिखनमा परिरहेको उल्लेख गरिन् । बाढीपीडित शिविरका महिला र बालबालिकाहरू समेत बेचबिखनको जोखिममा परेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । त्रिपालमा बस्दै आएका उनीहरूको समयमा नै पुनस्र्थापना नहुँदा तस्करहरू शिविरमा केन्द्रित भएको र रोजगारीको प्रलोभन देखाउँदै भारतमा ओसार्न थालेको गुनासो आउन थालेको छ । जिल्लामा मानव तस्करीको गिरोह सक्रिय भएपछि यसलाई नियन्त्रण गर्नका लागि विशेष अभियान सञ्चालनको तयारी गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको जिल्ला समितिले बुधवार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा सीमाले आफ्नो बहिनीलाई भारतमा मामाको छोरीले बेचेको भन्दै तत्काल उद्धार गरिदिन आग्रह गरिन् । साथै उनले गाउँमा अन्य व्यक्तिहरू पनि भारतमा बेचिएको भन्दै तस्करहरूको धम्कीका कारण आफन्तले उजुरी दिन नसकेको बताइन् । सो अवसरमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव मधु रेग्मीले महिला र बालबालिकाहरू बेचबिखनको जोखिममा रहेको बताए । साथै उनले यसलाई रोक्न आर्थिक तथा शैक्षिक रूपमा महिला तथा बालबालिकाहरूलाई सक्षम बनाउनुपर्नेमा जोड दिए । साथै उनले आफन्तहरूबाटै बढी जोखिम भएकाले जागिर र काम मिलाइदिन्छु भन्दैमा विश्वास गर्न नहुने बताए । जिल्ला अदालत सुर्खेतका न्यायाधीश कैलाश सुवेदीले अपराधीहरूलाई कानुनी कारबाही नहुँदासम्म यो समस्या समाधान नहुने बताए । दोषीलाई कानुनी दायरामा ल्याउन सके मानव बेचबिखन नियन्त्रण हुने उनको भनाइ छ । यस्तै प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले जिल्लामा बढ्दै गएको मानव तस्करी नियन्त्रणका लागि मुख्य नाकाहरूमा चेकजाँचमा कडाइ हुनुपर्ने बताए । अधिकांश घटनाहरू बाहिर नआउने भएकाले पनि अपराधीलाई कानुनी दायरामा ल्याउन कठिन हुने गरेको उनको भनाइ छ । आफन्तहरू नै बेचबिखनमा संलग्न हुने हुँदा हतारमा कसैको पनि विश्वास नगर्न समेत उनले आग्रह गरे । सो अवसरमा बोल्ने बक्ताहरूले सुर्खेतमा उद्धार गरिएकाहरूको संरक्षणका लागि पुनस्र्थापना केन्द्र स्थापना गर्न माग गरेका थिए ।
साझा बिसौनी संवाददाता ।