पूर्वतयारीमै कमजोरी

कर्णाली प्रदेशमा दैनिकजसो कोरोना संक्रमति देखिन थालेका छन् । आरटी–पीसीआर परीक्षण गर्दा संक्रमितको संख्या हरेक दिन बढ्दैछ । मंगलवारसम्म प्रदेशमा दुई सय ६६ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये दुई जना सुरक्षाकर्मी छन् भने अरु सबै हालै मात्र भारतबाट फर्किएका हुन् । यो क्रम अझै बढ्ने देखिन्छ । संक्रमण गति तीव्र भइरहँदा प्रदेश र स्थानीय सरकारले कोरोना प्रतिकार्यका लागि गरेको तयारी भने पर्याप्त र प्रभावकारी देखिएन । जसका कारण चौतर्फी आलोचना समेत भइरहेको छ । यद्यपि सरकारले भने आफ्नो बचाउ गर्दै आएको छ ।

सोमवार सरकारका तर्फबाट प्रदेशसभामा जवाफ दिँदै सामाजिक विकास मन्त्री दल रावलले पर्याप्त तयारी गर्दागर्दै पनि कोरोना नियन्त्रण गर्न नसकिएको दावी गरे । यद्यपि सरकारको आँकलन फेल खाएको स्वीकार भने मन्त्रीले गरेका छन् । विशेष गरेर मन्त्री रावलले भारतबाट नागरिक आउने क्रम बढेकाले कोरोनाको जोखिम पनि बढेको बताए । साथै यसरी भारतबाट फर्र्किनेको संख्याको आँकलन आफूहरूले गरेभन्दा बढी भएकाले चुनौती थपिएको उनको जिकिर थियो । यसले सरकारी संयन्त्रको अकर्मण्यता देखाउँछ । प्रदेशबाट रोजगारीका लागि भारत जानेहरूको तथ्यांक समेत प्रदेशसँग छैन । जसले गर्दा कति फर्किन्छन् भन्ने एकिन गर्न सरकार असफल देखियो । त्यसो त कर्णालीको ठूलो जनसंख्या भारतमा छ भन्ने जानकारी सरकारलाई नभएको भने होइन । तर जम्मा २०÷२२ हजार आउने आँकलन गर्नु नै कमजोरी हो । जबकि एकै जिल्लाबाट समेत २०÷२२ हजारभन्दा बढी नागरिक भारत पुगेका छन् । अहिले स्वदेश फर्किनेको ताँतीले पनि यही पुष्टि हुन्छ । तर सरकारले वस्तुनिष्ट तथ्यांकमा पुग्न नसक्दा र सोही अनुसारको पूर्व तयारी नगर्दा यतिबेला कोरोना रोकथाम र नियन्त्रणमा मात्रै होइन संक्रमितको उपचार र व्यवस्थापनमा समेत समस्या सिर्जना भएको छ ।

कोरोना प्रतिकार्य र रोकथामको तयारी गर्न ढिला नगरेको जिकिर मन्त्रीको छ । तर केही संख्यामा क्वारेन्टाइन निर्माण गर्नु र नाकाहरूमा ज्वरो नाप्नुलाई नै तयारी ठानेर बस्नुको परिणाम हो, अहिलेको अस्तव्यस्त अवस्था । प्रदेशभित्र अहिले पनि पर्याप्त पूर्वाधार छैन । तयारीका लागि पर्याप्त समय हुँदाहुँदै पनि पूर्वाधार सुधारमा ध्यान दिएको पाइएन । त्यतिमात्र होइन भारतबाट आएका सबैलाई नाकामै परीक्षण गर्ने र व्यवस्थित रूपमा क्वारेन्टाइनमा राख्ने कार्यमा पनि सरकारको कमजोरी देखियो । संक्रमितको संख्या अहिले जसरी नै तीव्र गतिमा बढ्दै जाने हो भने अवस्था अझ भयावह हुने देखिन्छ । त्यतिबेला सरकारलाई व्यवस्थापनमा थप चुनौती हुनेछ । यसतर्फ सरकारको ध्यान समयमै जान जरुरी छ । क्वारेन्टाइनहरूको अवस्था सुधार, पीसीआर मेसिन थप्ने, परीक्षणको दायरा बढाउने, संक्रमितको उपचारका लागि आइसोलेसन बेड, आईसीयू र भेन्टिलेटरको संख्या बढाउनेतर्फ पनि ढिलाइ गर्नु हुँदैन । यही ढिलाइ नै सरकारको कमजोरी हो । जसले भयावह अवस्था निम्त्याउने जोखिम बढाएको छ ।

प्रकाशित मितिः   २१ जेष्ठ २०७७, बुधबार ०७:२८