‘नागरिकको जीवनरक्षा नै प्राथमिकता’

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाबाट जनताको जीवन रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले राखेका प्रश्न एवम् जिज्ञासाहरूको मंगलवार प्रदेश सभाको बैठकमा जवाफ दिंदै मुख्यमन्त्री शाहीले नागरिकलाई रोग र भोकबाट जोगाउनु सरकारको दायित्व भएको बताए ।

मुख्यमन्त्री शाहीले कोरोना नियन्त्रण तथा रोकथामका लागि क्वारेन्टाइन व्यवस्थित गर्ने र संक्रमणलाई समुदायमा फैलन नदिएर नियन्त्रणमा राख्ने नीति लिइएको जनाए । संक्रमण रोकथामका लागि आरडीटी र पीसीआर परीक्षणको दायरा वृद्धि गर्ने र प्रदेशमा आरटी–पीसीआर प्रयोगशाला थपेर तीन स्थानबाट परीक्षण गर्ने तयारी गरिएको जानकारी दिए ।

कोरोना महामारीसँगै उत्पन्न समस्यामध्ये कर्णालीमा भोकमरीको समस्या पनि प्रमुख समस्याका रूपमा रहेकोले भोकमरीबाट जोगाउन आगामी आवमा खाद्य सुरक्षा, खाद्य आपूर्ति र उत्पादन वृद्धिमा जोड दिइने शाहीले बताए । उनले चालु आर्थिक वर्षमै २५ हजार क्वीन्टल चामल, १२ हजार क्वीन्टल गहुँ, ३ हजार क्वीन्टल दाल खरिद गरी भण्डार गर्ने र खाद्य सङ्कट हुने जिल्लामा पठाएर भोकमरी हुन नदिने निर्णय गरेको जानकारी दिए । खाद्यान्न, तरकारी, फलफूल रैथाने वस्तु उत्पादनलाई प्राथमिकता दिने बताउँदै मुख्यमन्त्री शाहीले अन्नबाली, फलफूल, दुग्धजन्य र मासुजन्य उत्पादनको वृद्धि गरी कर्णालीलाई खाद्यान्नमा आत्मानिर्भर बनाउन सरकार प्रतिवद्ध रहेको जिकिर गरे ।

शाहीले कोरोना प्रभाव कायम रहेको अवस्थामा पठनपाठन प्रभावित हुनेतर्फ सरकारको ध्यान गएको भन्दै प्रविधिको प्रयोग मार्फत (भर्चुअल, अनलाईन, रेडियो, टीभी) पठनपाठन अघि बढाउने योजना सरकारले बताए जानकारी दिए ।