गुर्जो प्रयोग गर्ने बढे

शरीरको प्रतिरोधात्मक क्षमता बढाउन जडिबुटी (गुर्जो)को प्रयोग गर्ने बढेका छन् । गुर्जो खाएपछि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्ने र भाइरस संक्रमणबाट बच्न सकिने विज्ञ तथा चिकित्सकहरूले सुझाव दिन थालेपछि गुर्जो प्रयोगकर्ता बढेका हुन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँग गुर्जोको माग पनि बढ्न थालेको हो ।

गाउँघरमा रुघाखोकी, ज्वरो आउँदा औषधिको रूपमा प्रयोेग हुँदै आएको गुर्जो रोग प्रतिराधात्मक क्षमता वृृद्धि गर्ने भएकाले मानिसहरूले यसलाई प्राथमिकता दिएका हुन् । प्रदेश आयुर्वेद औषधालय सुर्खेतका चिकित्सक डा. शंकरप्रसाद रिजालले अहिले गुर्जोको माग बढेको बताए । गुर्जोले भाइरस संक्रमण प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकाले विभिन्न रोगको संक्रमण हुनबाट बच्न सकिने भन्दै उनले यसको प्रयोग गर्न सुझाव समेत दिए । प्रदेश आयुर्वेद औषधालय सुर्खेतले दुई महिनाको अवधिमा करिब एक हजार जनाले गुर्जो प्रयोग गरेको जनाएको छ । औषधालयबाट यस अवधिमा मात्रै ४० केजी गुर्जो बिक्री भएको छ । औषधालयमै आएर गुर्जोको लहरा लिनेको संख्या पनि उतिकै छ ।

‘हाम्रो प्रत्यक्ष निगरानीमा मात्रै एक हजार जनाले गुर्जो प्रयोग गर्नुभएको छ । यस बाहेक गाउँघरतिर पनि प्रयोग बढेको छ । कतिपयले हामीलाई गुर्जो कसरी प्रयोग गर्न सकिन्छ भनेर पनि सोध्ने गर्नुभएको छ,’ डा. रिजालले भने । उनका अनुसार गुर्जोको धुलो (पाउण्डर) तातोपानीमा मिसाएर, महमा मिसाएर, क्याप्सुल बनाएर तथा लहराको रस बनाएर पनि खान सकिन्छ । कर्णाली प्रदेशका सबैजसो जङ्गलहरूमा पाइने र जुनसुकै बिरामीले खादा पनि असर नगर्ने भएकाले बहुगुणी जडिबुटी गुर्जोको प्रयोग गर्न उनले सुझाव दिए ।

वीरेन्द्रनगरस्थित क्वारेन्टाइनमा बसेका, पूर्व सावधानी गृहमा बसेका तथा त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई गुर्जो उपलब्ध गराइएको औषधालयले जनाएको छ । औषधालयले अन्य क्वारेन्टाइनमा पनि गुर्जो वितरण गर्ने तयारी गरेको छ । औषधालयले रोग संक्रमण प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो प्रयोग गर्न सार्वजनिक सूचनासमेत जारी गरेको छ ।

लकडाउनका कारण टाढाबाट सेवाग्राही आउने अवस्था नभए पनि गुर्जो प्रयोगकर्ता बढिरहेको डा. रिजालले बताए । उनका अनुसार औषधालयमा दैनिक २५ देखि ३० जना सेवाग्राही आउने गरेका छन् । लकडाउनका यस अवधिमा मात्रै एक हजार २६ जनाले ओपीडी सेवा लिएका छन् । फिबर क्लिनिकमा चारसय एक जनाले सेवा लिएको औषधालयले जनाएको छ ।

प्रकाशित मितिः   २१ जेष्ठ २०७७, बुधबार ०७:२६