भोलिदेखि सबै पसल सञ्चालन गर्ने उद्योग वाणिज्य संघको घोषणा

सुर्खेत : सुर्खेत उद्योग वाणिज्य संघले सरकारले गरेको लकडाउन अवज्ञा गर्दै पसल सञ्चालन गर्ने घोषणा गरेको छ । मङ्गलवार एक विज्ञप्त जारी गर्दै संघले भोलि जेठ २१ गतेदेखि सम्पूर्ण पसलहरु सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

शनिवारबाहेक हरेक दिन विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पसल सञ्चालन गर्न संघले सबै व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।

सरकारले लकडाउन लम्ब्याउनेबाहेक अन्य कुनै प्रभावकारी काम नगरेकाले निजी क्षेत्रले थप थेग्न नसक्ने विज्ञप्तिमा जनाइएको छ । ‘सरकारको बेवास्ता र अकर्मण्यताबाट प्रताडित भइरहेको अवस्थामा अब हामी स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण सावधानी र मापदण्डलाई पालना गर्ने गरी सम्पूर्ण पसल सञ्चालनमा ल्याउने बाध्यात्मक निश्कर्षमा पुगेका छौँ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्षमण कँडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले बजेटमार्फत निजी क्षेत्रलाइ सहुलियत र राहत प्याकेज घोषणा गर्ने अपेक्षा पूर्ण रुपमा उपेक्षा गरिएकोप्रति  आपत्ति जनाइएको छ ।

अन्य सम्पूर्ण पसल विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोल्ने र  तरकारी, फलफूल, डेरी तथा ग्यास पसल भने विहान ५ देखि ९ बजेसम्म र साँझ ५ देखि ८ बजेसम्म सञ्चालन गरिने जनाइएको छ ।

प्रकाशित मितिः   २० जेष्ठ २०७७, मंगलवार १५:४०