विद्यालय खोल्न सिफारिस

कर्णाली प्रदेश सरकारले हिमाली जिल्लामा विद्यालय खोल्ने व्यवस्था मिलाउन संघीय सरकारलाई सिफारिस गरेको छ । आइतवार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकमार्फत कोरोना संक्रमणको जोखिम कम देखिएका जिल्लाहरूमा विद्यालय खोल्न सिफारिस गरेको हो ।

बैठकले संक्रमणबाट सुरक्षित देखिएका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटमा सुरक्षा सावधानीसहित विद्यालय सञ्चालन गर्ने निर्णयको लागि नेपाल सरकार र कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रलाई अनुरोध गरेको हो । तर, आइतवार राती नै जुम्ला र कालीकोटमा ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लामा १९ र कालीकोटमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

बैठकले भारतबाट आएका व्यक्तिलाई प्रवेश नदिने गरी जेठ २५ बाट यार्चा संकलन खुला गर्न पनि अनुरोध गरेको छ । बैठकले हुम्ला र डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट तिब्बत तर्फबाट हुने ढुवानीमा समस्या उत्पन्न भएका कारण वैकल्पिक व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गरेको छ ।

प्रकाशित मितिः   २० जेष्ठ २०७७, मंगलवार ०६:३६