ठाेस कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ का लागि ल्याएको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरूले आलोचना गरेका छन् । उनीहरूले कोरोना भाइरस रोकथाम, नियन्त्रण, कृषि उत्पादन र रोजगारीका लागि सरकारले ठोस योजना नल्याएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

प्रदेशसभा सदस्य हिमबहादुर शाहीले सरकारले एकीकृत ठोस कार्यक्रम नल्याएको बताए । उनले नीति–कार्यक्रम विगतका वर्षहरूकै निरन्तरता भएको उल्लेख गरे । ‘हामीले कोरोना रोकथामसँगै कृषिलाई प्राथमिकता दिनुपर्छ भन्दै आएका थियौं । तर सरकारले एकीकृत ठोस योजना ल्याएन’ उनले भने ।

यस्तै गुलाबजंग शाहले नीति–कार्यक्रममा एउटै कुरा दोेहोरिएको बताए । मुख्यमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री युवा रोजगार कार्यक्रम राखेर संरचना मात्रै बढी खडा गर्ने र सरकार प्रमुखले मन्त्रालय सञ्चालन गरेको जस्तो देखिने उनले बताए ।

कृष्णा शाहले कोरोना रोकथामका लागि तत्कालीन अवस्थामा गर्नुपर्ने कार्य नीति तथा कार्यक्रममा स्पष्ट नल्याएको उल्लेख गरिन् । उनले कृषिमा तल्लो वर्गसँग जाने स्पष्ट कार्यक्रम नआएको भन्दै बजेटमा समावेश गर्न सरकारलाई सुझाव दिइन् ।

यसैगरी प्रदेशसभा सदस्य धर्मराज रेग्मीले पद र व्यक्तिसँग जोडिएर नीति–कार्यक्रम आएको आरोप लगाए । नीति तथा कार्यक्रममा कोरोना प्रतिकार्य, रासन, राहतलगायतमा विषयमा ठोस योजना नआएको भन्दै उनले यसतर्फ सरकारको ध्यान जानुपर्ने औंल्याए ।

यस्तै प्रदेशसभा सदस्यहरूले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा गम्भीर बन्न सुझाव दिएका छन् । प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै उनीहरूले परीक्षण नभएर गाउँमा जाँदा संक्रमण फैलिएको भन्दै परीक्षणको दायरा बढाउन सुझाव दिएका हुन् । प्रदेशसभा सदस्य झोवा विकले परीक्षणको दायरा बढाउन सरकारलाई आग्रह गरिन् । उनले सरकारले घमण्ड गरेका कारण अहिलेको महामारी निम्तिएको बताइन् । प्रदेशसभाको अर्को बैठक आज (मंगलवार) दिउँसो ३ बजे बस्नेछ । आज पनि नीति तथा कार्यक्रम माथि छलफल गरिने कार्यसूची छ ।

प्रकाशित मितिः   २० जेष्ठ २०७७, मंगलवार ०६:३७